काठमाडौं । ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्पका तर्फबाट वरिष्ठ महाप्रबन्धक अनुज कुमार गोयलले हस्ताक्षर गरेका हुन् ।
उक्त समझदारी अनुसार बैंकले त्रिवेणी मोटोकर्प तथा उक्त कम्पनीका आधिकारिक विक्रेताले बिक्री गर्ने विद्युतीय सवारी साधन खरिदका लागि सर्वसुलभ ब्याजदरमा छिटो, छरितो र सहज कर्जा प्रवाह गर्नेछ । बैंकले ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न विद्युतीय सवारी साधनलाई सर्वसुलभ व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ ।
बैंकले व्यक्तिगतरुपमा ‘अटो लोन’ तथा व्यवसायिक प्रयोजनका लागि ‘हायर पर्चेज’ कर्जा प्रवाह गर्ने गरेकोे छ । ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय छन् ।