काठमाडौं । इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै इन्धनको खरिद दरमा उल्लेख्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको तीव्र उछालका कारण नेपालका लागि पठाइएको दरमा ठूलो अन्तर देखिएको हो।
नयाँ दरअनुसार पेट्रोलमा प्रतिलिटर ४१ रुपैयाँ र डिजेलमा प्रतिलिटर ९४ रुपैयाँसम्म मूल्य बढेर आएको छ। भारतीय पक्षबाट आएको यो वृद्धि हालसम्मकै उच्चमध्ये एक मानिएको छ, विशेषगरी डिजेलमा देखिएको वृद्धि अत्यधिक रहेको छ।
यद्यपि, नेपाल आयल निगमले तत्कालका लागि नेपाली बजारमा इन्धनको खुद्रा मूल्य नबढाउने निर्णय गरेको छ। निगमले मूल्य स्थिरीकरण कोष तथा आफ्नो सञ्चित नाफा प्रयोग गरेर उपभोक्तामाथि थप भार नपार्ने नीति लिएको जनाएको छ।
भारतबाट उच्च दरमा इन्धन आयात भइरहे पनि मूल्य स्थिर राख्ने निर्णयले निगममाथि आर्थिक दबाब भने बढ्ने देखिएको छ।