आयल निगम प्रमुखको गाडी दुर्घटना, अनावश्यक आरोप नलगाउन निगमको आग्रह

काठमाडौँ, चैत्र १४ — नेपाल आयल निगमका कार्यकारी निर्देशक सवार गाडी कलङ्की क्षेत्रमा दुर्घटनामा परेको छ। निगमका अनुसार पेट्रोलियम पदार्थको आपूर्ति, बिक्री वितरण तथा खपत व्यवस्थापनबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलपछि फर्कने क्रममा उहाँ आफैले चलाएको सवारीसाधन सडक डिभाइडरमा ठोक्किएको हो।

दुर्घटनामा सवारीसाधनमा सामान्य क्षति पुगेको भए पनि कार्यकारी निर्देशकलाई कुनै चोटपटक लागेको छैन र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको निगमले जनाएको छ।

दुर्घटनापछि सामाजिक सञ्जालमा विभिन्न किसिमका भ्रामक सूचना फैलिएको भन्दै निगमले स्पष्टिकरण दिएको छ। निगमका अनुसार कार्यकारी निर्देशक स्वयंले प्रहरी प्रभाग कलङ्कीमा मादक पदार्थ सेवन (मा.पे.से.) परीक्षण गराउन अनुरोध गर्नुभएको थियो। त्यसपछि गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएको पुष्टि गरिएको छ।

निगमले तथ्यहीन र कपोलकल्पित समाचारप्रति सचेत रहन तथा त्यस्ता अफवाहमा विश्वास नगर्न आम नागरिक र सरोकारवालालाई अनुरोध गरेको छ।

प्रतिक्रिया