वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन

काठमाडौँ — वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ। मुटु र फोक्सोसम्बन्धी समस्याका कारण उपचाररत अवस्थामा आइतबार राति काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उनको निधन भएको हो। भक्तपुरको ताथलीमा १९८५ साउन २९ मा जन्मिएका पत्रकार रिसालले शरीरलाई अध्ययनका लागि पाटन अस्पताललाई दान गर्ने इच्छा व्यक्त गरिसकेका थिए।

लामो समय पत्रकारिता र समाजसेवामा समर्पित रहेर काम गरेका रिसालले राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको भूमिका निभाएका थिए। उनले रेडियो सगरमाथामा लोकप्रिय कार्यक्रम ‘उहिले बाजेका पालामा’ संचालन गरेर श्रोताको मन जितेका थिए। तथ्यांक विभागबाट करिअर सुरु गरेका उनले पत्रकारितामा उल्लेखनीय योगदान दिएका थिए।

वामपन्थी विचारधाराका उनी २०४८ सालको आम निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट भक्तपुरबाट उम्मेदवारसमेत बनेका थिए। पत्रकारितासँगै सामाजिक जागरण र वातावरण संरक्षणमा समेत सक्रिय रहेका उनले विभिन्न राष्ट्रिय पुरस्कारहरू समेत प्राप्त गरेका थिए।

५० को दशकमा वातावरण संरक्षण अभियान सञ्चालन गरी उनले स्थानीय राजनीतिक कार्यकर्तालाई वातावरणप्रति संवेदनशील बनाउने प्रयास गरेका थिए। भूगोलविद् हर्क गुरुङलाई विभिन्न जिल्लामा लगेर जनचेतना फैलाउने पहल उनीबाटै भएको हो। इलामको जसबिरेमा चिया र दूध उत्पादनमा किसानलाई प्रोत्साहन गर्ने, सडक विस्तार र दूध संकलन केन्द्र स्थापना गर्ने कार्यमा पनि उनको विशेष भूमिका रहेको स्मरण गरिएको छ।

सूचनामूलक र जनहितका सामाजिक अभियानमा समेत सक्रिय रिसालले धादिङ, चितवन, बाजुरा, कर्णाली जस्ता क्षेत्रमा रेडियो, शब्दकोश र उज्यालो अभियान सञ्चालन गरेका थिए। यस्ता कार्यक्रमका लागि स्रोत जुटाउन उनले सार्वजनिक आह्वान गरेका थिए, जुन आजको क्राउडफन्डिङको प्रारम्भिक अभ्यासको रूपमा लिइन्छ।

उनले पछिल्लो वर्षसम्म पनि लेखन र सामाजिक गतिविधिमा सक्रियता देखाएका थिए। ‘साधुलाई सुली’, ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ लगायतका कृति प्रकाशित गरिसकेका रिसालले सूचना र समाजसेवाको क्षेत्रमा सबैका लागि प्रेरणाको स्रोत बनेका थिए। उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय