काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि दीर्घकालीन योजना सार्वजनिक गरेका छन्। आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले स्वास्थ्य बीमा र स्नायु रोगको उपचार केन्द्र स्थापनालाई प्राथमिकतामा राख्दै पुराना योजनाहरूलाई नयाँ ढाँचामा अघि सारेका हुन्।
मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत रकमको दायरा १ लाखबाट ५ लाख रुपैयाँसम्म बढाउने प्रस्ताव गरेका छन्। साथै, राजधानीमा सुविधा सम्पन्न स्नायु रोग उपचार केन्द्र यथाशीघ्र स्थापना गर्ने घोषणा गरेका छन्। उनले आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम, र निःशुल्क उपचारका सबै योजनाहरूलाई एकीकृत गरेर स्वास्थ्य बीमामा समावेश गर्ने योजना पनि अघि सारेका छन्।
मन्त्री पौडेलले १६औं योजना र दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर दीर्घकालीन योजना तयार पारिएको बताए, जसमा मानवअंग प्रत्यारोपण केन्द्र स्थापना, औषधिको मूल्य समायोजन, र औषधि व्यवस्था विभागको क्षमता सुदृढीकरणको योजना समावेश गरिएको छ। यसका अतिरिक्त, प्रदेश तथा संघ अन्तर्गतका अस्पतालहरूमा जलन उपचार निःशुल्क गर्ने, वार्षिक रूपमा खेलाडीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने लगायतका योजनाहरू पनि सार्वजनिक गरिएका छन्।
यी योजनाहरूको कार्यान्वयनका लागि स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग सुझाव सङ्कलन गरिएको मन्त्री पौडेलले जानकारी दिए। उनले पूर्व स्वास्थ्य मन्त्री, पूर्व स्वास्थ्य सचिव, पूर्व महानिर्देशक, स्वास्थ्य क्षेत्रका सरोकारवाला संघ-संस्था, नियकाका प्रतिनिधि, बहालवाला कर्मचारी, अस्पतालका निर्देशक, सञ्चारकर्मी, निजी क्षेत्र, र विकास साझेदारहरूसँग परामर्श गरी यो योजना तयार पारिएको बताएका छन्।