काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेका छन्। आज बिहान राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगी उनले औपचारिक रूपमा पदभार सम्हालेका हुन्।
पदभार ग्रहण गर्दै मन्त्री खरेलले सूचना प्रविधि क्षेत्रमा महत्वपूर्ण मानिने निर्णय सार्वजनिक गरेका छन्। उनले काठमाडौंसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउने घोषणा गरेका हुन्। यसलाई आफ्नै कार्यकालको पहिलो महत्वपूर्ण कदमका रूपमा खरेलले प्रस्तुत गरेका छन्।
मन्त्री खरेलले निःशुल्क वाइफाइ सेवाले सर्वसाधारण नागरिकलाई सूचना प्रविधिको पहुँचमा सहजता ल्याउने विश्वास व्यक्त गरे। उनले भने, “डिजिटल नेपाल निर्माणको आधार नै सर्वसाधारणलाई इन्टरनेटको पहुँच उपलब्ध गराउनु हो। यस कदमले विद्यार्थी, व्यवसायी, पर्यटक तथा आम नागरिक सबैलाई सुविधा पुर्याउनेछ।”
मन्त्रालयका अधिकारीका अनुसार पहिलो चरणमा काठमाडौं, पोखरा, बिराटनगर, जनकपुर, नेपालगञ्ज, चितवन, धरान, बुटवल, धनगढी र हेटौँडालगायतका शहरहरूमा वाइफाइ सुविधा विस्तार गरिने तयारी छ। यसका लागि नेपाल टेलिकम, एनसेल लगायतका सेवा प्रदायकहरूसँग समन्वय गर्ने प्रक्रिया अगाडि बढाइएको छ।
सूचना प्रविधिमा व्यापक सुधार गर्ने योजना उनले अघि सारेका छन्। यसअन्तर्गत सरकारी कार्यालयमा सूचना प्रविधिको प्रयोग बढाउने, डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्ने र ग्रामीण क्षेत्रमा समेत इन्टरनेटको पहुँच पुर्याउने कार्यलाई प्राथमिकतामा राखिने उनले स्पष्ट पारे।
मन्त्री खरेलले नागरिकसँग प्रत्यक्ष सम्बन्ध राख्ने सूचना प्रविधि तथा सञ्चार क्षेत्रलाई पारदर्शी, प्रभावकारी र सर्वसुलभ बनाउन सरकार गम्भीर भएर लाग्ने पनि बताए। उनले जनताले देखिने र छुन सक्ने परिणाम देखाउन आफू प्रतिबद्ध रहेको स्पष्ट गर्दै निरन्तर सुधारका पहल गर्ने आश्वासन दिए।