विकास बैंक, फाइनान्स र लघुवित्त सम्बन्धि ४ वटा संगठनले आपत्ति जनाएका छन् । बैंक, विकास बैंक, फाइनान्स र लघुवित्तका सीईओहरुको संगठनले बैंकविरुद्द अराजक गतिविधीहरु भइरहेको र सामाजिक सञ्जालहरुमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको नाम प्रयोग गरी प्रेषित गरिएका भ्रामक र गलत अभिव्यक्तिहरु प्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।
नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रुपमा विज्ञप्ति जारी गरेरै सर्वसाधारणहरुलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तीजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ्ग सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरुलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत माग गरेका छन् ।
‘यस संघहरुसँग सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको रु ५ लाख सम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सूरक्षण कोष मार्फत् सुरक्षण गरिएको स्मरण गराउँदछौँ’ विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जालहरुमा देखिने गलत तथा भ्रामक टिप्पणीहरुमा कुनै ध्यान नदिनु हुन र सम्बन्धित सरोकार निकायहरुले सम्प्रेषण गरेको सूचना÷समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिनुहुन अनुरोध गर्दछौं ।’