काठमाडौं — चिकित्सा क्षेत्रका व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं भारतको आसाम राज्यमा आत्मसमर्पण गरेको उनको सचिवालयले जानकारी दिएको छ। सचिवालयले बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट गर्दै प्रसाईंले आफ्नो सुरक्षाका लागि भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको दाबी गरेको हो। पोस्टमा भनिएको छ, “२ घण्टाअघि अभियानका संयोजक दुर्गा प्रसाईंले सुरक्षाको आवश्यकता महसुस गर्दै स्वेच्छिक रूपमा भारतको आसाम प्रहरी समक्ष उपस्थित हुनुभएको छ।”
यसअघि सार्वजनिक भएको एक भिडियो सन्देशमा प्रसाईंले जीवन रक्षाको प्रत्याभूति गरिए २४ घण्टाभित्र उपस्थित हुने बताएका थिए। सचिवालयका अनुसार त्यही प्रतिबद्धता अनुसार उनी उपस्थित भएका हुन्।
प्रसाईंमाथि चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोप लाग्दै आएको छ। आरोप अनुसार उनले आफैँले चलाएको सवारीले प्रहरीलाई उडाउने प्रयास गरेका थिए, जसपछिको झडपले ज्यान समेत जाने स्थिति निम्तिएको थियो। घटनापछि उनी फरार भएका थिए र भारत पुगेको अनुमान गरिएको थियो।
यद्यपि, उनी भारतमा आत्मसमर्पण गरिसकेको भन्ने दाबी सचिवालयले गरे पनि नेपाली सुरक्षा निकायले हालसम्म त्यसको औपचारिक पुष्टि गरेका छैनन्।