काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध तयारी अवस्थामा रहेको ठूलो सैन्य हमला तत्कालका लागि स्थगित गरिएको घोषणा गरेका छन्। इरान र मध्यपूर्वका केही मुलुकबाट आएको कूटनीतिक आग्रह तथा प्रारम्भिक सम्झौतामा सहमति जुटेपछि हमला रोक्ने निर्णय गरिएको ट्रम्पले बताएका हुन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका दोस्रो विश्वयुद्धयताकै सबैभन्दा ठूलो सैन्य शक्ति परिचालन गर्न तयार रहे पनि वार्तालाई अवसर दिन आक्रमण नगर्ने निर्णय लिएको उल्लेख गरेका छन्। उनका अनुसार सम्भावित सम्झौतामा होर्मुज जलडमरूमध्य (होर्मुज स्ट्रेट) पूर्ण रूपमा सञ्चालनमा ल्याउने र इरानको आणविक कार्यक्रमसँग सम्बन्धित जोखिम अन्त्य गर्ने विषय समेटिएको छ। उनले इजरायल पनि यस निर्णयमा अमेरिकासँग सहमत रहेको दाबी गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले ट्रम्पसँग टेलिफोन वार्ता गर्दै सम्भावित सैन्य कारबाही रोक्न र कूटनीतिक समाधानलाई प्राथमिकता दिन आग्रह गरेका थिए।
यता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरान वार्तामा आउनु अमेरिकी सैन्य दबाबको परिणाम भएको दाबी गरेका छन्। फक्स न्युजसँगको कुराकानीमा उनले अमेरिकी कारबाहीबाट इरानको नौसेना, वायुसेना, मिसाइल प्रतिरक्षा प्रणाली तथा हतियार उत्पादन केन्द्रमा ठूलो क्षति पुगेको बताएका छन्। यद्यपि इरानसँग अझै पनि मिसाइल र ड्रोन क्षमता रहेकाले सतर्कता आवश्यक रहेको उनको भनाइ छ।
उता इरानी अधिकारीहरूले भने अमेरिकामाथि दोहोरो नीति अपनाएको आरोप लगाएका छन्। राष्ट्रिय सुरक्षा समितिका प्रवक्ता हसन घस्कवीले सार्वजनिक रूपमा युद्धको चेतावनी दिने तर गोप्य माध्यमबाट वार्ताको प्रस्ताव गर्ने अमेरिकी व्यवहार विरोधाभासपूर्ण रहेको बताएका छन्। उनले होर्मुज जलडमरूमध्यबाट हुने जहाज आवतजावत इरानकै व्यवस्थापनअनुसार सञ्चालन हुने दाबी पनि गरेका छन्।
इरानी सांसद इब्राहिम रेजाईले इरानमाथि आक्रमण भए त्यसको जवाफ फारसको खाडीमा मात्र सीमित नरहने चेतावनी दिएका छन्। त्यस्तै इरान–चीन चेम्बर अफ कमर्सका अध्यक्ष मजिदरेजा हरिरीले देशभर फैलिएका विद्युत् पूर्वाधारका कारण हवाई आक्रमणबाट सम्पूर्ण इरानलाई अन्धकारमा धकेल्न सम्भव नहुने बताएका छन्।
यद्यपि वार्ताको सम्भावना बढे पनि पश्चिम एसियामा तनाव पूर्ण रूपमा साम्य भएको छैन। अमेरिकाले इजरायलस्थित बेन गुरियन विमानस्थलमा थप इन्धन भर्ने सैनिक विमान पठाएको छ भने उत्तरी इराकमा ड्रोन आक्रमण भएको र गाजामा इजरायली आक्रमण जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।