काठमाडौं — नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर नीलम ढुंगाना तिम्सिनाले निजी क्षेत्रतर्फ कर्जा प्रवाह नहुनु र पुँजीगत खर्च न्यून हुनु नेपाली अर्थतन्त्रका लागि प्रमुख चुनौती भएको स्पष्ट पारेकी छन्। आइतबार काठमाडौंमा आयोजित नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उनले हाल नेपाली अर्थतन्त्रले सामना गरिरहेको अवस्था र त्यसका चुनौतीहरूबारे विस्तृत धारणा व्यक्त गरेकी हुन्।
उनले हाल नेपालको बाह्य क्षेत्र बलियो बन्दै गएको उल्लेख गर्दै सकारात्मक संकेत देखिएको बताइन्। तर, आन्तरिक पक्षमा भने अपेक्षित सुधार नदेखिएको भन्दै चिन्ता व्यक्त गरिन्। “हाम्रो वित्तीय पहुँचमा उल्लेख्य सुधार भएको छ। चालु आर्थिक वर्षदेखि देशका सबै स्थानीय तहहरूमा बैंकका शाखा कार्यालय स्थापना भइसकेका छन्,” ढुंगानाले भनिन्, “तर, निजी क्षेत्रतर्फ कर्जा प्रवाहमा आएको मन्दी र पुँजीगत खर्चमा आएको कमजोरी हाम्रो अर्थतन्त्रमा चुनौतीका रूपमा उभिएको छ।”
उनले निजी क्षेत्रले पर्याप्त कर्जा नपाउँदा लगानीमा मन्दी आएको र सरकारी पुँजीगत खर्च प्रभावकारीरूपमा हुन नसक्दा आर्थिक वृद्धि दरमा समेत असर परेको औंल्याइन्। यस अवस्थालाई सुधार गर्न राष्ट्र बैंकले आवश्यक नीतिगत पहलहरू गरिरहेको र आगामी दिनमा अझ प्रभावकारी नीति ल्याइने ढुंगानाले उल्लेख गरिन्।
उनले वित्तीय समावेशीकरणलाई राष्ट्र बैंकले प्राथमिकता दिएको बताउँदै सबै वर्ग र समुदायसम्म वित्तीय सेवा पुगोस् भन्ने उद्देश्यले सहुलियतपूर्ण ऋण, वित्तीय साक्षरताका कार्यक्रम तथा अन्य सहायक कार्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिइन्।
कार्यक्रममा ढुंगानाले नेपाली बैंकिङ प्रणालीको मजबुती र अनुशासनको प्रशंसा गर्दै आगामी दिनमा प्रविधिमैत्री, पारदर्शी र उत्तरदायी वित्तीय प्रणाली निर्माण गर्न राष्ट्र बैंकले थप प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन्।