पाँच महिनामा रेमिट्यान्स ३५.६ प्रतिशतले वृद्धि, ८ खर्ब ७० अर्ब भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा रेमिट्यान्स आप्रवाह उच्च दोहोरो अंकले बढेको छ । यस अवधिमा कुल ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिरसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरणले यस्तो देखाएको हो । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.६ प्रतिशतले बढी हो ।

मंसिर महिनामा मात्र १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९ प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ३.४ प्रतिशतले मात्र बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९५४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ७०० अर्ब ४३ करोड रुपैयाँ रहेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ७५ हजार ५९१ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९२४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९० हजार ३८४ र १ लाख ३५ हजार ४२५ रहेको थियो ।

महिनागत विवरण अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा रेमिट्यान्समार्फत १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ भित्रिएको थियो, जुन गत आर्थिक वर्षको साउनको तुलनामा २९.९ प्रतिशतले बढी हो । भदौ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.८ प्रतिशतले वृद्धि भई १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

त्यसैगरी असोज महिनामा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ र कात्तिक महिनामा १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय