नागढुङ्गा सडक निर्माण: साढे ४ घण्टा दैनिक सवारी आवागमन रोकिँदै

काठमाडाैं - काठमाडौं उपत्यकामा भित्रिने मुख्य नाकामध्ये एक नागढुङ्गा–नौबिसे सडकखण्ड जेठ १० देखि २५ गतेसम्म हरेक दिन साढे चार घण्टा बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार विहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म यो सडक खण्ड बन्द गरेर निर्माण कार्य अगाडि बढाइनेछ।

यसअघि रातिको समयमा सञ्चालन हुँदै आएको निर्माण अब प्राविधिक कारणले दिउँसो गर्नुपर्ने भएपछि नयाँ तालिका अनुसार काम अघि बढाउने निर्णय भएको हो। नागढुङ्गा–पिपलामोड सडक निर्माण योजनाअन्तर्गत हुने कार्यका लागि यसरी सवारी आवागमन रोक्नु पर्ने अवस्था आएको र सो अनुरूप धादिङ तथा काठमाडौँ जिल्ला प्रशासन कार्यालयबीचको समन्वयमा अनुमति दिइएको जनाइएको छ।

प्रजिअ तिवारीले विगतमा रातिमा भत्काउने काम सम्पन्न भइसकेको र अब संरचना निर्माणको चरणमा प्रवेश गरेकाले दिनको समयमा काम गर्नु आवश्यक देखिएको बताए।

यस अवधिमा नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले जारी गरेको सूचनाअनुसार काठमाडौँतर्फ जाने सवारी नागढुङ्गामा र नौबिसेतर्फबाट आउने सवारी खानीखोलामा रोकिनेछ। वैकल्पिक मार्गका रूपमा धार्के–सितापाइला र टोखा–छहरे त्रिशूली–गल्छी मार्ग प्रयोग गर्न सवारी चालकहरूलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया