विदेशी विनिमय सञ्चिति २२७३ अर्ब पुग्यो, ११.४ प्रतिशतले वृद्धि

काठमाडौं। नेपालको कुल विदेशी विनिमय सञ्चिति ११.४ प्रतिशतले वृद्धि भई रु.२२७३ अर्ब २६ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा रु.२०४१ अर्ब १० करोड रहेको सञ्चिति मंसिर मसान्तमा यस स्तरमा पुगेको हो।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड थियो। मंसिर मसान्तमा यो ९.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकमा रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा रु.१८४८ अर्ब ५५ करोड थियो। मंसिर मसान्तसम्म यो १० प्रतिशतले वृद्धि भई रु.२०३३ अर्ब २७ करोड पुगेको छ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरू (राष्ट्र बैंकबाहेक) को सञ्चिति २४.६ प्रतिशतले वृद्धि भएको छ। २०८१ असार मसान्तमा रु.१९२ अर्ब ५५ करोड रहेको सञ्चिति मंसिर मसान्तमा रु.२४० अर्ब पुगेको हो।

कुल सञ्चितिमा भारतीय मुद्राको अंश २२.८ प्रतिशत रहेको छ। राष्ट्र बैंकका अनुसार यो सञ्चिति आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको वस्तु आयातका लागि १७.६ महिना र वस्तु तथा सेवा आयातका लागि १४.६ महिना धान्न पर्याप्त रहेको छ।

२०८१ मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात, र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ३९.८ प्रतिशत, १२१.६ प्रतिशत, र ३१.६ प्रतिशत रहेको छ। २०८१ असार मसान्तमा यी अनुपात क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत, र २९.३ प्रतिशत थिए।

प्रतिक्रिया