अन्तरिम सरकारमा थपिए चार नयाँ अनुहार

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने तयारीसहित आज चार नयाँ मन्त्री मनोनयन हुन लागेका छन्। सरकारका स्रोतका अनुसार महिला मन्त्रालयको नेतृत्व श्रद्धा श्रेष्ठले सम्हाल्ने पक्का भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कुमार इङ्नामलाई जिम्मेवारी दिने तयारी भएको छ।

त्यस्तै, वन तथा वातावरण मन्त्रालयको नेतृत्व माधव चौलागाईंलाई दिने निर्णय भएको स्रोतले जनाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका रूपमा राजेन्द्र सिंह भण्डारीलाई चयन गर्ने तयारी समेत गरिएको छ। उनीहरूको शपथ ग्रहण आजै सम्पन्न हुने जनाइएको छ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा यसअघि प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन, अर्थमन्त्री रामेश्वर खनाल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा, कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सुधा गौतम र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता रहेका छन्।

चार नयाँ मन्त्री थपिएसँगै मन्त्रिपरिषद् सदस्य संख्या १४ पुग्नेछ।

प्रतिक्रिया