काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएसँगै आगामी संसद्को सम्भावित अंकगणित प्रष्ट भएको छ। मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाइ बहुमत नजिक पुगेको देखिएको छ।
प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिक मतका आधारमा करिब ५७ सिट पाउने अनुमान गरिएको छ। यदि यही संख्या कायम भएमा प्रतिनिधिसभामा रास्वपाको कुल १८२ सिट पुग्नेछ। २७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइका लागि १८४ सिट आवश्यक पर्ने भएकाले रास्वपा दुई सिटले मात्र पछि पर्ने देखिन्छ।
समानुपातिकतर्फ रास्वपाले कुल एक करोड ७ लाख ६४ हजार ८ सय ८९ मतमध्ये ५१ लाख ४६ हजार ६ सय ८१ मत प्राप्त गरेको छ, जुन करिब ४७ प्रतिशतभन्दा बढी हो।
दोस्रो ठूलो दलका रूपमा नेपाली कांग्रेस ले समानुपातिकतर्फ करिब २० सिट पाउने देखिएको छ। प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसको प्रतिनिधिसभामा कुल ३८ सिट हुने अनुमान छ, जुन अघिल्लो निर्वाचनको तुलनामा धेरै कम हो।
नेकपा (एमाले) ले समानुपातिकबाट करिब १६ सिट पाउने अनुमान गरिएको छ। प्रत्यक्षमा ९ सिट जितेको एमालेको प्रतिनिधिसभामा कुल २५ सिट हुने देखिन्छ, जुन अघिल्लो प्रतिनिधिसभाको तुलनामा निकै कम हो।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी ले समानुपातिकबाट करिब ९ सिट पाउने देखिएको छ भने प्रत्यक्षमा ८ सिट जितेकाले कुल १६ सिट हुने सम्भावना छ।
त्यस्तै श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ले समानुपातिकबाट ४/४ सिट पाउने अनुमान गरिएको छ। प्रत्यक्षतर्फ श्रम संस्कृतिले ३ सिट जितेकाले उसको कुल ७ सिट हुने देखिन्छ भने राप्रपाले प्रत्यक्षमा १ सिट जितेकाले कुल ५ सिट हुने सम्भावना छ।
निर्वाचन आयोगले औपचारिक रूपमा सिट बाँडफाँटको घोषणा भने गरिसकेको छैन। आयोगले मतपरिणामका आधारमा सिट निर्धारण गरेपछि सम्बन्धित दलहरूलाई समानुपातिक सूचीबाट सांसद सिफारिस गर्न पत्राचार गर्ने जनाएको छ।