काठमाडौं । हिजो मात्र नियुक्त भएकी नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न देश र संस्थाबाट बधाई र शुभकामना आउने क्रम जारी छ। छिमेकी भारतले राति नै विज्ञप्ति जारी गर्दै उनलाई बधाई दिइसकेको थियो। यसैबीच नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हम्डीले पनि नेपालकी पहिलो महिला प्रधानमन्त्री कार्कीलाई शुभकामना दिँदै बधाई सन्देश पठाएकी छन्।
संयुक्त राष्ट्रसंघ नेपालले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको नियुक्तिप्रति नेपाली जनतालाई समेत बधाई दिँदै, शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको जनअपेक्षामा साथ दिने प्रतिबद्धता व्यक्त गरिएको छ। संयोजक हम्डीले भनेकी छन्, “यो संवेदनशील घडीमा संयुक्त राष्ट्रसंघ नेपाली जनताको शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको आकांक्षामा साथ दिन प्रतिबद्ध छ।”
सन्देशमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोक सिग्देल, र नयाँ पुस्ताका युवा नेताहरूको भूमिकाको प्रशंसा गरिएको छ। परिवर्तनको क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, कार्कीलाई “देशको संवेदनशील परिस्थितिमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ, उहाँको कार्यकाल सफल रहोस्” भन्दै शुभकामना व्यक्त गरिएको छ।
संयुक्त राष्ट्रसंघले नेपालको स्थायित्व, मानव अधिकार र दिगो विकासको यात्रामा सरकारसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि दोहोर्याएको छ।