पाँच महिनामा वाणिज्य बैंकहरूको नाफा ३० अर्ब नाघ्यो

काठमाडाैं -नेपाल राष्ट्र बैंकले पाँच महिनाको बैंक तथा वित्तीय संस्थाहरूको तथ्यांक सार्वजनिक गर्दै वाणिज्य बैंकहरूले यस अवधिमा ३० अर्ब ५९ करोड रुपैयाँ खुद नाफा कमाएको जानकारी दिएको छ। राष्ट्र बैंकका अनुसार मंसिरमा बैंकहरूको नाफा कात्तिकको तुलनामा ३७ प्रतिशतले वृद्धि भएको छ।

यस अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ। नबिलले ३ अर्ब ५० करोड रुपैयाँ खुद नाफा गरेर अग्रस्थान सुरक्षित गरेको छ। दोस्रोमा ग्लोबल आइएमई बैंक २ अर्ब ८३ करोड रुपैयाँ नाफासहित रहेको छ भने नेपाल इन्भेस्टमेन्ट मेघा बैंक २ अर्ब ४९ करोड रुपैयाँ नाफा गर्दै तेस्रो स्थानमा छ।

त्यस्तै, कुमारी बैंकले १ अर्ब ९९ करोड, प्राइम कमर्सियलले १ अर्ब ९७ करोड, एभरेष्ट बैंकले १ अर्ब ९४ करोड, एनएमबिले १ अर्ब ९० करोड, र प्रभु बैंकले १ अर्ब ८४ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। अन्य बैंकहरूमध्ये नेपाल बैंक लिमिटेडले १ अर्ब ५१ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड, नेपाल एसबिआई बैंकले १ अर्ब ३४ करोड, र हिमालयन बैंकले १ अर्ब ३३ करोड रुपैयाँ नाफा गरेका छन्।

राष्ट्रिय वाणिज्य बैंकको नाफा ८६ करोड ७२ लाखमा सीमित रहेको छ भने सिद्धार्थ बैंकले ९७ करोड ९० लाख, सिटिजन्स इन्टरनेशनलले ६९ करोड ४९ लाख, सानिमा बैंकले ९० करोड ४१ लाख, माछापुच्छ्रे बैंकले ८२ करोड ७४ लाख, र एनआईसी एसिया बैंकले ६३ करोड ३४ लाख रुपैयाँ नाफा गरेका छन्।

यद्यपि कृषि विकास बैंक भने यस अवधिमा घाटामा गएको छ। प्रारम्भिक तथ्यांकले देखाएको विवरणलाई पुष्टि गर्न केही दिनभित्रै बैंकहरूले आफ्ना वित्तीय प्रतिवेदन प्रकाशन गर्नेछन्।

प्रतिक्रिया