चालु वर्षको तीन महिनामै ५० अर्बभन्दा बढी सरकारी ऋण थप

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा सरकारले ५० अर्ब ६० करोड रुपैयाँ बराबर ऋण थप गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म कुल सरकारी ऋण २६ खर्ब ७४ अर्ब रुपैयाँ थियो, जुन असोज मसान्तसम्म बढेर २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ पुगेको हो।

हाल सरकारको तिर्न बाँकी ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.६१ प्रतिशत बराबर पुगेको छ। यसमध्ये वैदेशिक ऋणको हिस्सा ५३.०९ प्रतिशत अर्थात् १४ खर्ब ४६ अर्ब ५८ करोड रुपैयाँ र आन्तरिक ऋणको हिस्सा ४६.९१ प्रतिशत अर्थात् १२ खर्ब ७८ अर्ब सात करोड रुपैयाँ रहेको छ।

सरकारले यो आर्थिक वर्षमा पाँच खर्ब ९५ अर्ब रुपैयाँ बराबर ऋण उठाउने लक्ष्य राखेको छ। सोमध्ये पहिलो त्रैमासमा एक खर्ब ८४ करोड रुपैयाँ ऋण प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको १६.९३ प्रतिशत हो। आन्तरिक ऋणतर्फ तीन खर्ब ६२ अर्बको लक्ष्य रहेकामा ९० अर्ब (२४.८६ प्रतिशत) उठिसकेको छ भने बाह्य ऋणतर्फ दुई खर्ब ३३ अर्ब ६६ करोडको लक्ष्यमा ४.६५ प्रतिशत अर्थात् एक अर्ब ८४ करोड रुपैयाँ मात्रै प्राप्त भएको छ।

यस वर्ष सरकारले ऋणको साँवा र ब्याज तिर्न चार खर्ब ११ अर्ब एक करोड रुपैयाँ बराबर बजेट छुट्याएको छ। असोज मसान्तसम्म एक खर्ब नौ अर्ब ८९ करोड रुपैयाँ भुक्तानी भइसकेको छ, जुन वार्षिक बजेटको २६.७४ प्रतिशत हो। कुल जीडीपीका आधारमा असोज मसान्तसम्म ऋण सेवा खर्च १.८० प्रतिशत रहेको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय