सर्वोच्च अदालतमा १४  न्यायाधीशको विद्रोह, अब के हुन्छ ?

काठमाडौं  : न्यायिक आचरणविपरीत काम गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सर्वोच्च अदालतमा न्यायाधीशहरूको विद्रोह भएको छ । विगतमा उनी निकट भनेर चिनिएका न्यायाधीशहरूले समेत आइतवारदेखि उनको साथ छाडेका छन् ।  आइतवार सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठक बसेर प्रधानन्यायाधीशले बोलाएको भोलिको बैठकमा सहभागी नहुने निर्णय गरेका छन् । 


आइतवार न्यायाधीशहरूको बैठकमा १४ जना उपस्थित थिए भने ४ जना काठमाडौं बाहिर र एकजना विदेशमा छन् । बैठकमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत, आनन्द मोहन भट्टराई र सुष्मालता माथेमा सहभागी थिए । यसैगरी न्यायाधीशहरू प्रकाश ढुंगाना, कुमार रेग्मी, हरि फुँयाल, बमकुमार श्रेष्ठ, टंक मोक्तान, मनोज शर्मा र नहकुल सुवेदी पनि आजको बैठकमा सहभागी भएका थिए ।


आजको बैठकमा अनुपस्थित रहेका न्यायाधीश सपना प्रधान मल्ल, अनिल सिन्हा, तेजबहादुर केसी र कुमार चुडालको पनि आफूहरूको अभियानमा समर्थन रहने आजको बैठकमा सहभागी एक न्यायाधीशले भने । न्यायाधीश ईश्वर खतिवडा देशबाहिर छन् ।  भोलि बिहान ११ बजे फेरि बैठक बसेर न्यायाधीशहरूले थप निर्णय गर्ने बताएका छन् । १४ न्यायाधीशले चोलेन्द्रशमशेर जबराको राजीनामा अब न्यूनतम शर्त भएको निष्कर्ष निकालेका थिए । मन्त्रिपरिषद्मा भागबण्डा खोजेको भन्दै प्रधानन्यायाधीश जबराको चौतर्फी आलोचना भएको छ । 


शुक्रवार मात्र पूर्वन्यायाधीश फोरमले न्यायालयको स्वतन्त्रताको लागि जबराले न्यायालय छाड्नु पर्ने धारणा सार्वजनिक गरेको थियो । मन्त्रिपरिषद्मा भागबण्डा खोजेपछि प्रधानन्यायाधीश विवादमा फसेका थिए ।

प्रतिक्रिया