राजस्व संकलन लक्ष्यअनुसार हुन सकेन,पहिलो त्रैमासमा सरकारको खर्च दर १८ प्रतिशतमा सीमित

काठमाडौँ – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा सरकारले कुल बजेटको १८ प्रतिशत मात्र खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्म कुल रु ३ खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख बराबर खर्च भएको हो, जुन वार्षिक विनियोजनको १८.५६ प्रतिशत हो।

सरकारले यस वर्षका लागि रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको थियो। त्यसअन्तर्गत चालुतर्फ २१.७५ प्रतिशत अर्थात् रु २ खर्ब ५६ अर्ब ८० करोड ६० लाख खर्च भएको छ। पुँजीगत खर्च भने निकै कम रहँदै ४.७ प्रतिशत अर्थात् रु १९ अर्ब १८ करोड ३४ लाखमा सीमित छ। वित्तीय व्यवस्थातर्फ २३.६१ प्रतिशत अर्थात् रु ८८ अर्ब ६० करोड खर्च भएको कार्यालयले जनाएको छ।

राजस्व संकलन पनि लक्ष्यअनुसार हुन सकेको छैन। असोज मसान्तसम्म सरकारले वार्षिक राजस्व लक्ष्यको १६.५१ प्रतिशत मात्र उठाएको छ। कुल राजस्व संकलन रु २ खर्ब ५३ अर्ब १८ करोड ७९ लाख रहेको छ। आन्तरिक राजस्वतर्फ लक्ष्यको १६.८३ प्रतिशत अर्थात् रु २ खर्ब ४९ अर्ब ५ करोड १४ लाख संकलन भएको छ।

यस्तै, वैदेशिक अनुदानको ५३ अर्ब ४४ करोड ६९ लाख लक्ष्य रहेकामा हालसम्म ३.७६ प्रतिशत अर्थात् रु २ अर्ब ७२ लाख मात्र प्राप्त भएको छ।

चालु आर्थिक वर्षको बजेट तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेका थिए। जेनजी आन्दोलनपछि सरकार परिवर्तन भई अहिले रामेश्वर खनाल अर्थमन्त्री बनेका छन् र बजेट कार्यान्वयनको जिम्मेवारी सम्हालिरहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय