काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवामा बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारलाई सरकारको साथ र सहयोग रहने बताएका छन्। उनले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिले आफूलाई गहिरो दुःखी बनाएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले प्राकृतिक विपद्का कारण धेरै नागरिकले ज्यान गुमाउनु परेको भन्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकमा रहेका परिवारजनमा समवेदना व्यक्त गरेका छन्। उनले बाढीमा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
प्रधानमन्त्री शाहका अनुसार विपद्को खबर प्राप्त भएलगत्तै सरकारले उद्धार, खोजी तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरेको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको तथा हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको उनले जानकारी दिएका छन्। उद्धार गरिएका घाइतेलाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको जनाइएको छ।
घाइतेको सहज र निःशुल्क उपचारका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको प्रधानमन्त्री शाहले बताएका छन्। उपत्यकाका अन्य ठूला अस्पताललाई पनि आवश्यकताअनुसार घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको र प्रभावित क्षेत्रमा मेडिकल टोली तथा आवश्यक स्वास्थ्य सामग्री पठाइएको उनले जानकारी दिएका छन्।
आपत्कालीन स्वास्थ्य सेवा, औषधि र रगतको अभाव हुन नदिन सम्बन्धित स्वास्थ्य निकाय, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउटलगायत विभिन्न संघसंस्थासँग समन्वय भइरहेको उनको भनाइ छ। बाढी प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग समन्वय गरी स्थानीय तहमा आवश्यक पर्ने सहयोग पहिचान गरेर सहजीकरण भइरहेको पनि उनले बताएका छन्।
प्रधानमन्त्री शाहले बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाउने बताएका छन्। उनका अनुसार नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङका गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बढी प्रभावित भएका छन्।
प्रभावित परिवारसम्म तत्काल खानेकुरा, स्वच्छ खानेपानी, औषधि र अस्थायी बसोबासको व्यवस्था पुर्याउने सरकारको योजना रहेको शाहले बताएका छन्। बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनालाई प्राथमिकताका आधारमा पुनर्निर्माण गरी विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने उनको भनाइ छ।
प्रधानमन्त्री शाहले विपद्को कठिन समयमा प्रभावित नागरिकहरू एक्लो नरहेको बताउँदै उद्धार, उपचार, खानपान र बसोबासको जिम्मेवारी सरकारले लिने विश्वास दिलाएका छन्। साथै, राहत तथा उद्धार अभियानमा सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न उनले आग्रह गरेका छन्।