मेसीको जादुमा अर्जेन्टिना फेरि विश्वकपको फाइनलमा

काठमाडौँ । साबिक विजेता अर्जेन्टिनाले रोमाञ्चक पुनरागमन गर्दै इंग्ल्यान्डलाई २–१ गोलले पराजित गरेको छ। अमेरिकाको एटलान्टास्थित रङ्गशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा अन्तिम क्षणमा दुई गोल गर्दै अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको हो।

खेलको पहिलो हाफ दुवै टोलीबीच कडा प्रतिस्पर्धात्मक रह्यो। आक्रामक खेल र लगातारका ट्याकलका कारण रेफ्रीले खेल नियन्त्रण गर्न निकै संघर्ष गर्नुपरेको थियो। दोस्रो हाफमा भने खेलले नयाँ मोड लियो।

इंग्ल्यान्डले ५५औँ मिनेटमा मोर्गन रोजर्सको आकर्षक क्रसलाई एन्थोनी गोर्डनले गोलमा परिणत गर्दै अग्रता बनाएको थियो। त्यसपछि इंग्ल्यान्डले रक्षात्मक रणनीति अपनाएर अग्रता जोगाउने प्रयास गर्‍यो। तर अर्जेन्टिनाले निरन्तर दबाब सिर्जना गर्दै ८५औँ मिनेटमा कप्तान लियोनल मेसीको पासमा एन्जो फर्नान्डेजमार्फत बराबरी गोल फर्कायो।

खेल अतिरिक्त समयमा पुगेपछि अर्जेन्टिनाले आफ्नो लय कायम राख्यो। अतिरिक्त समयको दोस्रो मिनेटमा फेरि मेसीकै उत्कृष्ट पासमा लाउटारो मार्टिनेजले हेडमार्फत विजयी गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाए।

योसँगै अर्जेन्टिना सातौँ पटक विश्वकपको फाइनलमा पुगेको छ भने इंग्ल्यान्ड लगातार तेस्रो संस्करणमा सेमिफाइनलबाटै बाहिरिएको छ।

अब अर्जेन्टिनाले साउन ४ गते बिहान पौने १ बजे उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। इंग्ल्यान्डले भने साउन ३ गते बिहान पौने ३ बजे तेस्रो स्थानका लागि फ्रान्ससँग खेल्नेछ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय