काठमाडौं — तीनकुनेमा चैत १५ गते राजसंस्थाको पुनःस्थापनाका पक्षमा भएको प्रदर्शनमा भएको हिंसात्मक घटनाबारे अनुसन्धान गर्न नागरिक समाजको पहलमा ‘नागरिक छानबिन आयोग’ गठन गरिएको छ। संयुक्त जनआन्दोलन परिचालन समितिको संयोजनमा गठित आयोगको संयोजकमा वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपाली छन्।
राष्ट्रिय मानवअधिकार आयोग र सरकारले घटनाको अनुसन्धान नगरेको भन्दै नागरिकस्तरबाट गठन गरिएको आयोगमा सुरक्षा क्षेत्रबाट पूर्व एआइजी रविराज थापा, चिकित्सा क्षेत्रबाट डा. रामप्रसाद उप्रेती, मानवअधिकारविद् डा. ज्ञान बस्नेत र अधिवक्ता हरि कट्टेल सदस्य छन्।
राजसंस्थाको पक्षमा गरिएको शान्तिपूर्ण प्रदर्शनमा भएको भनिएको मानवअधिकार हननप्रति चासो राख्दै आयोग गठनका लागि विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्व र संघसंस्थाहरुले संयुक्तरूपमा प्रस्ताव गरेका थिए। सोही प्रस्तावलाई बुधबार काठमाडौंमा आयोजित भेलाबाट पारित गर्दै आयोगको औपचारिक गठन गरिएको हो।
संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङ, राष्ट्रिय शक्ति नेपालका संयोजक केशरबहादुर बिष्ट, पर्यटन व्यवसायी भरत बस्नेत, आध्यात्मिक व्यक्तित्व आरबी बस्नेत, मानवअधिकार म्याग्ग्रामिट २०११ का संयोजक सुरेश आचार्यलगायत ३९ वटा संघसंस्थाका प्रतिनिधि र प्रबुद्ध व्यक्तित्वहरुले आयोग गठनमा सहमति जनाएका छन्।
आयोगले तीनकुने घटनाका क्रममा भएको भनिएको गम्भीर मानवअधिकार उल्लङ्घनबारे स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित छानबिन गर्ने बताइएको छ। समितिका प्रवक्ता स्वागत नेपालले आयोग गठनले घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।