ट्रम्प र जेलेन्स्कीबीचको चर्काचर्कीपछि अमेरिका-युक्रेन खनिज सम्झौतामा हस्ताक्षर रद्द

काठमाडौं - शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिका-युक्रेन खनिज सम्झौतामा हस्ताक्षर गर्ने योजना सहितको पत्रकार सम्मेलन रद्द गरियो। यसअघि ओभल अफिसभित्र दुई नेताबीच तनावपूर्ण चर्काचर्की भएपछि यो निर्णय लिइएको हो।

उच्चस्तरीय द्विपक्षीय बैठक अघि हुने सामान्य पत्रकार सम्मेलन अप्रत्याशित रूपमा टेलिभिजनमा देखाइएको विवादमा परिणत भयो। यो सबै अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सको टिप्पणीबाट सुरु भएको थियो, जसले त्यहाँ उपस्थित हुँदा युक्रेनी नेताले ट्रम्पको रूससँगको तीन वर्षे द्वन्द्व अन्त्य गर्ने प्रयासको लागि धन्यवाद दिनुपर्छ भनेर माग गरे।

"तिमीले राष्ट्रपति महोदयलाई यो द्वन्द्व अन्त्य गर्ने प्रयासका लागि धन्यवाद दिनुपर्छ," भ्यान्सले अभूतपूर्व सार्वजनिक भिडन्तका क्रममा भने, जसमा ट्रम्प र भ्यान्स बनाम जेलेन्स्कीबीच पटक-पटक एकअर्कालाई ओझेलमा पार्दै बोल्ने प्रयास भएको थियो।

भ्यान्सको भनाइको प्रतिवाद गर्दै जेलेन्स्कीले अमेरिका "भविष्यमा" युक्रेन-रूस द्वन्द्वले ल्याउने समस्याको सामना गर्नु पर्ने बताएका थिए। ट्रम्पले यसलाई अस्वीकार गर्दै भने, "तिमीले आफूलाई नराम्रो स्थितिमा पुर्‍यायौ, त्यसैले तिमीले हामीलाई के महसुस हुनेछ भन्ने बताउने स्थिति छैनौ।"

"तिमीसँग अहिले केही शक्ति छैन। हामीसँग मिलेर मात्रै तिमीले शक्ति पाउँछौ," ट्रम्पले भने। त्यसक्रममा जेलेन्स्कीले आफूले कुनै खेल खेलिरहेको नभएको भन्दै प्रतिवाद गरेका थिए।

"तिमीले लाखौं मानिसको जीवनसँग जुवा खेल्दैछौ। तिमी तेस्रो विश्वयुद्धसँग जुवा खेल्दैछौ। र यो देशप्रति धेरै अपमानजनक व्यवहार गरिरहेको छौ," ट्रम्पले जोड दिएर भने।

ओभल अफिसमा भएको विवादपछि ट्रम्पले ट्रुथ सोसलमा लेखे, "मैले निष्कर्ष निकालेको छु कि राष्ट्रपति जेलेन्स्की अमेरिका सामेल भएमा शान्तिका लागि तयार छैनन्, किनभने उनलाई हाम्रो संलग्नताले वार्तामा ठूलो फाइदा दिन्छ भन्ने लाग्छ। मलाई फाइदा चाहिएको होइन, शान्ति चाहिएको हो। उनले ओभल अफिसमा अमेरिकालाई अपमान गरे। उनी शान्तिका लागि तयार भएपछि मात्र फिर्ता आउन सक्छन्।"

अर्कोतिर, जेलेन्स्कीले एक्समा लेखे, "धन्यवाद अमेरिका, तपाईको समर्थनका लागि धन्यवाद, यो भ्रमणका लागि धन्यवाद। धन्यवाद (राष्ट्रपति ट्रम्प), कंग्रेस, र अमेरिकी जनतालाई। युक्रेनलाई न्यायपूर्ण र दिगो शान्ति चाहिन्छ, र हामी त्यहीका लागि काम गरिरहेका छौं।"

प्रतिक्रिया