झापा । भद्रपुर विमानस्थलमा शुक्रबार राति अवतरणका क्रममा बुद्ध एयरको एटीआर–७२ जहाज दुर्घटनामा परेको छ ।
दुर्घटनामा को–पाइलटसहित सात जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको जहाज राति ९ः१० बजे अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई घाँसे झाडी र माटोमा भासिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए । दुर्घटनामा ललितपुर–४ निवासी २४ वर्षीय को–पाइलट सुशान्त श्रेष्ठ र अन्य छ जना यात्रु घाइते भएका हुन् । घाइते यात्रुहरूमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं–१६ की ४० वर्षीया मुना घतानी र १६ वर्षीया प्रिया घतानी रहेका छन् ।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बूको कमान्डमा करिब ७० जनाको टोली उद्धारका लागि खटिएको थियो । प्रहरी टोलीले सबै यात्रुलाई सुरक्षित रूपमा जहाजबाट बाहिर निकाली घाइतेलाई भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल पुर्याएको थियो । टाउको र अनुहारमा चोट लागेका को–पाइलट श्रेष्ठको उपचार भइरहेको छ भने अन्य छ जना सामान्य उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । जहाज शुक्रबार राति ८ः२३ बजे काठमाडौंबाट उडेको थियो । घटनाबारे थप प्राविधिक अनुसन्धान भइरहेको छ ।