काठमाडौं । एमाले अध्यक्ष केपी ओलीलाई भएका काठमाडाैंका मेयर बालेन शाहले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट गरेका छन् ।
साहको सचिवालयका अनुसार मेयरमा निर्वाचित भएकोमा देउवाले बधाई दिएका थिए। पछिल्लो समय शीर्ष नेतालाई भेट्ने कार्यतालिका बनाएका साहले बुधवार प्रधानमन्त्रीलाई भेटेका हुन् भने अरु दलका नेताहरुलाई पनि क्रमसँगै भेट्ने तय भएको साहको सचिवालयका एक सदस्यले जानकारी दिए।
भेटमा देउवाले साहलाई चमत्कार गरेर जितेको बताएका थिए। प्रधानमन्त्री र साहबीच भेट हुने तय भएपछि बुधवार भेट भएको थियो।
‘बालेनजीले पनि प्रधानमन्त्रीलाई पनि भेट्नुपर्यो सबैजना बस्ने यहीँ हो भन्नुभएको थियो। त्यही भएर भेट भएको हो,’ साहको सचिवालयका एक सदस्यले भने, ‘प्रधानमन्त्रीले चमत्कार गर्नुभयो भन्नुभयो।’
साहले महानगरको विकासका लागि प्रधानमन्त्रीको साथ चाहिने भन्दै सहयोगका लागि आग्रह गरे। देउवाले काम गर्ने इच्छा भएकालाई आफूले सबै खालको सहयोग गर्ने आश्वासन दिएका छन्।
‘काठमाडौं बनाउन आएको हो मलाई सहयोग चाहिन्छ भन्नेकुरा वालेनले गर्नुभयो। प्रधानमन्त्रीले पूर्ण साथ समर्थन हुन्छ भन्नुभयो। काम गर्ने मान्छेलाई जे जस्तो सहयोग चाहिन्छ गर्न एकदम तयार छु भन्नुभयो,’ साहको सचिवालयका सदस्यले भने।