काठमाडौँ – स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ।
नेदरल्यान्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९ ओभर चार बलमा चार विकेटको क्षतिमा भेट्टाएको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए। उनले आफ्नो ११औँ अर्धशतक पूरा गर्दै टी–२० अन्तर्राष्ट्रियमा नेपालबाट सबैभन्दा धेरै अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका छन्।
नेपालका लागि आरिफ शेखले ३९ रन र भीम सार्कीले २७ रनको योगदान दिए। नेदरल्यान्ड्सका बेन फ्लेचर, आर्यन दत्त, ज्याक लिओन र रोएलफ भ्यान डेरले समान रूपमा एक–एक विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७४ रन बनाएको थियो। माइकल लेभिटले सर्वाधिक ८६ रन बनाए भने रोएलफ भ्यान डेरले ३६ र आर्यन दत्तले १७ रनमा अविजित रहे।
नेपालका करण केसीले दुई विकेट लिए भने ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले एक–एक विकेट लिए।
त्रिदेशीय शृङ्खला स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीच डबल राउन्ड रोबिन ढाँचामा भइरहेको छ। शृङ्खलाको पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो। नेपालले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा हार बेहोरेको थियो। दोस्रो खेलमा भने नेपालले स्कटल्यान्डलाई दुई विकेटले हराएको थियो।
ताजा नतिजासँगै नेपाल तीन खेलमा चार अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा पुगेको छ। नेदरल्यान्ड्स चार खेलमा चार अङ्कसहित दोश्रो स्थानमा छ भने स्कटल्यान्ड तीन खेलमा दुई अङ्कसहित तेस्रो स्थानमा रहेको छ।