काठमाडौँ — सरकारले आज १८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदैछ। ट्रेजरी बिलमार्फत यो ऋण संकलन गर्न लागिएको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यससम्बन्धी सूचना जारी गर्दै सोमबार साढे १८ अर्ब रुपैयाँ बराबरको ऋण संकलनका लागि बोलकबोल प्रक्रिया सुरु भएको जनाएको छ।
यसअघि नै बिक्री भइसकेको ट्रेजरी बिल नवीकरणका लागि पनि बोलकबोल गरिने छ। उक्त बोलकबोल आज सोमबार दिउँसो ३ बजेसम्म गर्न सकिनेछ भने बिल मङ्गलवार जारी हुनेछ। सरकारले यसअघि पनि ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचत पत्र, र वैदेशिक ऋणपत्रलगायतका माध्यमबाट आन्तरिक ऋण संकलन गर्दै आएको छ। यसै क्रममा अहिले पुनः ट्रेजरी बिलमार्फत रकम संकलन गर्न लागिएको हो।
अघिल्लो बोलकबोलमा ट्रेजरी बिलको औसत भरित ब्याजदर २.९९ प्रतिशत रहेको थियो। बैंक तथा वित्तीय संस्थाले अधिकतम ३ प्रतिशत र न्यूनतम २.३१ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए।
चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। यो बजेटमध्ये ११ खर्ब ४० अर्ब ६६ करोड चालु खर्च, ३ खर्ब ५२ अर्ब ३५ करोड पूँजीगत खर्च, र ३ खर्ब ६७ अर्ब २८ करोड वित्तीय व्यवस्थापनतर्फ विनियोजन गरिएको छ।
आगामी वर्षका लागि अनुमानित खर्चको स्रोत व्यवस्थापन गर्न सरकारले १२ खर्ब ६० अर्ब ३० करोड राजस्वबाट र ५२ अर्ब ३३ करोड वैदेशिक अनुदानबाट संकलन गर्ने योजना बनाएको छ। यद्यपि, ५ खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँ राजस्व र अनुदानले नधान्ने भएकाले सरकारले ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋणमार्फत पूर्ति गर्ने योजना अघि सारेको छ। साथै, बाँकी २ खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ वैदेशिक ऋणबाट जुटाइनेछ।