वासिङ्टन डीसी । अमेरिकामा फेरि एक पटक विमान दुर्घटना भएको छ । आयोवाबाट मिनेसोटातर्फ जाँदै गरेको एक सानो विमान मिनियापोलिस उपनगर ब्रुकलिन पार्कमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा कम्तीमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।
संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार सोकाटा टीबिएम मोडेलको एकल-इन्जिनयुक्त विमान दुर्घटनाग्रस्त भएको हो । विमानमा कति जना सवार थिए भन्ने यकिन जानकारी नभए पनि विमानले अधिकतम ६ जनासम्म बोेेेेेेेक्न सक्ने बताइएको छ । प्रारम्भिक विवरण अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
दुर्घटनाका कारण ब्रुकलिन पार्कस्थित एउटा घरमा आगलागी भएको छ । तर, घरका बासिन्दाहरू भने सकुशल रहेका छन् । आगलागीबाट घर पूर्ण रूपमा क्षतिग्रस्त भएको ब्रुकलिन पार्कका प्रवक्ता रिसिकत अदेसाओगुनले जनाएका छन् ।
एफएएका अनुसार विमान डेस मोइन्स अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेर मिनियापोलिसको अनोका काउन्टी–ब्लेन विमानस्थलमा अवतरण गर्ने तयारीमा थियो । दुर्घटनाको कारणबारे हालसम्म कुनै स्पष्ट जानकारी प्राप्त नभए पनि राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले घटनाको विस्तृत अनुसन्धान सुरु गरिसकेको छ ।