काठमाडौं–नेकपा एमालेका नेता राजन भट्टराई एकपछि अर्को विवादमा मुछिएका छन् । इपिजी प्रतिवेदन चीनलाई बेचेको कारण विवादमा तानिएका काठमाडौं क्षेत्र नं ४का प्रतिनिधि सभा उम्मेदवार भट्टराई अहिले फेरी अर्का विवादास्पद व्यापारी इच्छाराज तामाङसँगको कनेक्सनले चर्चामा छन् ।
तामाङ सिभिल सहकारीको ७ अर्ब डुवाएर अहिले जेल जीवन विताइरहेका छन् । भट्टराई भैंसेपाटीमा बस्दै आएको घर उनै विवादास्पद व्यापारी इच्छाराज तामाङले राजनलाई उपहार दिएको नेकपाका एक नेताले बताए । भट्टराई काठमाडौं ४मा नबसेर भैसेपाटीमा बस्नुको रहस्य ती एमालेका नेताले खोले । ‘राजन जी प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार हुँदा इच्छाराज तामाङलाई जोगाइदिन्छु भन्दै तामाङको कम्पनी सिभिल होमबाट घर पाउनु भयो,’ ती नेताले भने, ‘तर इच्छाराजलाई जोगाउन सक्नु भएन ।’
काठमाडौं ४बाट जनप्रतिनिधि बन्ने इच्छा भए पनि सिभिल होमबाट ललितपुरको भैंसेपाटीमा घर पाएकाले यता (काठमाडौं ४)मा घर नबनाएको ती नेताले बताए । ‘सित्तैमा घर पाए पछि किन यता बनाउनु,’ ती एमालेका नेताले भने, ‘ललितपुरमा बसेर काठमाडौं ४को राजनीतिक गर्ने भनेर उहाँ (राजन)माथि आलोचना भएको छ ।’
इच्छाराजले राजनलाई किन सित्तैमा घर दिएत भन्ने जिज्ञासामा ती नेताले भने, ‘तामाङको सबै व्यवसाय डुब्ने अवस्थामा पुगे पछि प्रधानमन्त्रीसँग लविङ गर्ने बहानामा घर लिए ।’ भट्टराई प्रधानमन्त्रीको सल्लाहकार हुँदा तामाङलाई जोगाइदिने भनेर घर लिएको ती नेताले बताए । राजन अहिले चुनावी कार्यक्रममा सहभागी हुँदा भने चावहिलमा रहेको दाजुको घरमा बस्ने गरेका छन् ।
पहिला एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य भएका तामाङ सिभिल बैंकको अध्यक्ष पनि थिए । पछि व्यवहार बिग्रिँदै गएपछि एमाले पनि उनलाई साथ दिएन । एमाले सरकारमा हुँदासम्म इच्छाराज जोगिए पनि नेपाली कांग्रेसको सरकार आउनासाथ तामाङ ठगी मुद्दामा जेल परे । राजनले आँफूलाई धोका दिएको भनेर तामाङलाई भेट्न जाने एमालेका कार्यकर्तासँग गुनासो गर्ने गरेका छन् ।
सिभिल सहकारीमा निक्षेपकर्ताको करिव ७ अर्ब रुपैयाँ फिर्ता नगर्न नसकेपछि तामाङ अहिले जेलमा छन् । उनको व्यवसाय पनि चौपट परेको छ । तामाङले अहिले आँफूलाई आफ्नै पार्टीका नेताले साथ नदिएको कारण यो अवस्थामा आएको बताउने गरेका छन् ।