नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी–व्यवसायीलाई ठुलो मात्रामा उत्पादन गरेर छिमेकी मुलुक भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउन आग्रह गरेका छन्। उनले निर्यात बढाउन कुन चिज कहाँ बिक्री हुन्छ भन्ने जानकारी प्राप्त गरी त्यस अनुसारको व्यापारिक रणनीति बनाउन पनि जोड दिए।
प्रधानमन्त्री ओलीले नेपालको पूर्वाधार विकासको क्रम जारी रहेको र यसले देशलाई अझ तीव्रताका साथ अगाडि बढाउने बताए। उनले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रलाई पर्ने प्रतिकूल प्रभावलाई लयमा फर्काउन नयाँ सरकार बनेको र सन् २०२६ सम्ममा नेपाललाई मध्यमस्तरको आय भएको मुलुकको रूपमा स्तरोन्नति गर्ने तयारीमा रहेको जनाए।
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलमा रूपान्तरण गर्ने, अन्य विमानस्थलहरू विस्तार गर्ने र नदीको बाटोबाट समुद्रसम्म पहुँच विस्तार गर्ने जस्ता पूर्वाधार विकासका कार्यहरू गरिरहेको बताउँदै उनले यी प्रयासहरूले उद्योग–व्यवसायको विकास गरी देशलाई सम्पन्न बनाउने उद्देश्य रहेको स्पष्ट गरे।
प्रधानमन्त्री ओलीले भने, "अहिले हामीले व्यापारको जुन आँकडा तयार गरिरहेका छौँ, त्यो वास्तविक छैन। खपतका लागि किनेको वा आयात गरेको कार्यलाई मात्रै व्यापार मान्न सकिँदैन। हामीले विज्ञान र प्रविधिको प्रयोग गरेर विभिन्न सामाजिक क्रियाकलाप र उत्पादन बढाउन लाग्नुपर्छ। अहिलेको सरकार अर्थतन्त्रको विकासका लागि गम्भीर छ।"
उनले नेपाललाई न्यून आय भएको मुलुकबाट स्तरोन्नति गराउन सबै मिलेर जुट्नुपर्ने आग्रह गरे। यसैबीच, आफू सप्रिउँ र देशलाई पनि सपारौँ भन्ने लक्ष्यका साथ चेम्बर एक्स्पो भएकामा उनले खुसी व्यक्त गरे।