काठमाण्डौं–आईपीओ निष्कासन भएर बाँडफाँड भए पछि लगानीकर्ता दोस्रो बजारमा कहिले आउला भनेर प्रतिक्षा गरिरहेका हुन्छन् । मध्यभोटेकोशी जलविद्युत कम्पनीमा आईपीओ परेका लगानीकर्ता पनि कारोबार कहिले होला भनि रहेका बेला कम्पनीले नेप्सेमा सुचिकृतको प्रक्रिया अघि बढााएको छ । कात्तिक अन्तिम हप्ता वा मंसिर पहिलो हप्ता दोस्रो बजारमा कारोबार गर्ने तयारी छ ।
कम्पनीले गत कात्तिक १२ गते आईपीओ बाँडफाँड गरेको थियो । हाल आरटीएस नियुक्तिको प्रक्रिया अगाडि बढाइएको कम्पनीका सीईओ रामगोपाल शिवाकोटीले बताए । आईपीओ नेप्सेमा सूचीकरणका लागि प्रक्रिया अगाडि बढाउन लागेको शिवाकोटीले बताए ।
मध्यभोटेकोशी कम्पनीले गत आसोज २० गतेबाट कुल ९० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल निष्कासन हुने कित्तामध्ये ३ लाख ६० हजार कित्ता (४ प्रतिशत) कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ४ लाख ५० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको थियो। सहनिष्कासनकर्तामा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका थिए।