सहमति नजुट्दा राष्ट्र बैंक गभर्नर नियुक्ति अन्योलमा

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको भए पनि नयाँ गभर्नर नियुक्ति अझै हुन सकेको छैन। गभर्नरको कार्यकाल सकिनु एक महिना अघिनै नियुक्ति भइसक्नुपर्ने कानुनी व्यवस्था भए पनि सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीचको अडानका कारण प्रक्रिया अघि बढ्न सकेको छैन।

गभर्नर पदमा झण्डै एक दर्जन आकांक्षी देखिए पनि मुख्य दाबेदारका रूपमा वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना र राष्ट्र बैंक सञ्चालक समिति सदस्य डा. रवीन्द्र पाण्डे रहेका छन्। ढुंगाना एमाले निकट हुन् भने पाण्डे कांग्रेस कोटाबाट सिफारिस भएका हुन्। दुई दलबीच सहमति जुट्न नसकेपछि अहिले राजनीतिक प्रभावभन्दा बाहिरका ‘साझा चरित्र’ भएका उम्मेदवारको खोजी थालिएको चर्चा बालुवाटारमा चलिरहेको छ।

यसबीच, गभर्नर बन्न राष्ट्र बैंककै कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. प्रकाश कुमार श्रेष्ठ र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पनि दौडमा छन्। उनीहरूको दाबी पनि कमजोर नरहेको बताइएको छ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली गभर्नर नियुक्ति छिटो टुंगोमा पुर्‍याउने पक्षमा देखिए पनि पछिल्लो मन्त्रीपरिषद् बैठकमा कांग्रेस नेतृ एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पूर्व मुख्यसचिव राजेन्द्र किशोर क्षेत्रीको नाम अघि सारेपछि प्रधानमन्त्री ओली झस्किएका थिए।

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सोमबारदेखि औपचारिक रूपमा समाप्त भएको छ। सरकारले हाललाई वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगानालाई कार्यवाहक (कामु) गभर्नरको जिम्मेवारी दिएको छ।

प्रधानमन्त्री ओलीले गभर्नर पद एमालेको भागमा पर्नुपर्ने अडान राखेका छन् भने कांग्रेसले आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ। यसैबीच ओलीले केही समय पर्खेर अर्को संवैधानिक पद कांग्रेसलाई दिने र गभर्नर आफ्ना निकट व्यक्तिलाई नियुक्त गर्ने रणनीति बनाएको चर्चा पनि राजनीतिक वृत्तमा चलिरहेको छ।

गभर्नर छनोटका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भइसकेको छ। समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल रहेका छन्। तर, प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति नजुटेकाले समितिको औपचारिक छलफल सुरु हुन सकेको छैन। समिति सदस्य डा. पौडेल केही दिनका लागि विदेश जाने तयारीमा रहेकाले तत्काल नयाँ गभर्नर नियुक्त हुने सम्भावना न्यून देखिएको छ।

प्रतिक्रिया