काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा एक खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ आम्दानी गरेको छ । यसमध्ये विद्युत् बिक्रीबाट मात्रै एक खर्ब २५ अर्ब २७ करोड ७० लाख रुपैयाँ उठाएको छ भने विद्युत् निर्यातमार्फत १७ अर्ब ४७ करोड १० लाख आम्दानी भएको छ । यो अघिल्लो वर्षको तुलनामा ८.४६ प्रतिशतले वृद्धि भएको प्राधिकरणले जनाएको छ ।
खर्चतर्फ हेर्दा कुल एक खर्ब २९ अर्ब ८१ करोड पुगेको छ । सञ्चालन खर्च अघिल्लो वर्षको तुलनामा १०.१५ प्रतिशतले बढेर ९७ अर्ब ७८ करोड ७० लाखमा पुगेको हो । विद्युत् खरिदमा मात्र ७७ अर्ब १० करोड खर्च भएको छ, जुन ११.७३ प्रतिशतले वृद्धि हो । अन्य खर्चमा उत्पादनतर्फ दुई अर्ब सात करोड, प्रसारणमा तीन अर्ब २४ करोड, वितरणमा १२ अर्ब २२ करोड र रोयल्टीतर्फ एक अर्ब ८४ करोड रहेको प्राधिकरणले जनाएको छ ।
व्याज खर्च, ह्रासकट्टी र विनिमय नोक्सानीसमेत जोड्दा कुल खर्च एक खर्ब २९ अर्ब ८१ करोड पुगेको छ । यसैबीच, प्राधिकरणको करअघिको नाफा नौ अर्ब ६ करोड ७० लाखमा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३७.३२ प्रतिशतले घटेको हो । तर, प्राधिकरणको कुल सम्पत्ति भने ६.२ प्रतिशतले बढेर ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको छ ।