काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै विजयी सुरुवात गरेको छ ।
ओमानमा बुधबार भएको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको हो । १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमै ८३ रनमा समेटिँदा नेपालले सहज जित दर्ता गर्यो । कुवेतका क्लिन्टो एन्टोले २६ रन बनाए पनि टोलीलाई ठुलो साझेदारी दिलाउन सकेनन् ।
नेपालका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले समान दुई–दुई विकेट लिए भने नन्दन यादव, कुशल भुर्तेल र सोमपाल कामीले एक–एक विकेट झारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४१ रनको योगफल तयार गरेको थियो । नेपालका ओपनर कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै ५६ बलमा ६६ रन बनाए । लगातार विकेट खस्दा पनि उनले नेपाललाई सम्मानजनक स्कोरमा पुर्याएका थिए ।
गुल्सन झाले छोटो तर आक्रमक इनिङ खेलेका थिए । उनले ६ बलमा २० रनको योगदान दिए । अन्य ब्याटरमध्ये आसिफ शेखले २, कप्तान रोहित पौडेलले १६, कुशल मल्लले ४, सन्दीप जोराले ५ र दीपेन्द्रसिंह ऐरीले १९ रन बनाए ।
कुवेतका बलर नवीनराज राजेन्द्रन र अनुदीप चन्दमाराले समान दुई–दुई विकेट हात पारे । नेपालले समूह चरणको अन्तिम खेल शुक्रबार जापानसँग खेल्ने कार्यक्रम रहेको छ ।