काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले दिएको आदेशबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।
सानेपामा जारी कांग्रेस केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै पौडेलले पूर्वसभापति शेरबहादुर देउवाको राजनीतिक भूमिकाको आलोचना गर्दै पार्टीलाई रणनीतिक ढङ्गबाट अघि बढाउनुपर्ने बताए।
उनले सर्वोच्चको आदेशलाई लिएर पार्टीभित्र अनावश्यक चिन्ता गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरे। ‘रणनीतिक ढङ्गबाट हामीले आफूलाई अगाडि बढाऔँ। त्यस्तो धेरै आत्तिइहाल्नुपर्ने अवस्था छ भन्ने मलाई लाग्दैन,’ उनले भने।
पौडेलले पूर्वसभापति देउवा पार्टीभित्र कुनै पक्षको जर्सी नलगाई रेफ्रीको भूमिकामा फर्कने अपेक्षा गरिएको भए पनि त्यो पूरा हुन नसकेको टिप्पणी गरे। ‘हामीले अपेक्षा गरेका थियौँ, शेरबहादुर दाइ रेफ्री भएर फर्कनुहुन्छ। शेरबहादुर दाइ कुनै टिमको जर्सी लगाएर फर्कनुहुन्न भन्ने हाम्रो अपेक्षा थियो। तर हामी अपेक्षा गर्नेहरू पनि त्यस्तै हौँ,’ उनले भने।
देउवाले विचारको उचाइ कायम गरेर राजनीति गर्न नसकेको आरोपसमेत पौडेलले लगाए। उनका अनुसार देउवाले गुट निर्माण, शक्तिसँगको सम्बन्ध र शक्ति केन्द्र निर्माणलाई प्राथमिकता दिएकाले विचारको उचाइ प्राप्त गर्ने अवसर गुमाएका हुन्।
‘गुट बनाएर, शक्तिसँग जोडिएर शक्ति केन्द्र निर्माण गरेर उहाँले राजनीति गर्नुभयो। त्यसैले विचारको उचाइ प्राप्त हुने जुन अवसर थियो, मेरो विचारमा हाम्रो पूर्वसभापतिज्यूले त्यो गुमाउनुभयो,’ पौडेलले भने।
उनले पार्टीभित्रको पछिल्लो विवादलाई लिएर कांग्रेसजन अलमलिनुपर्ने अवस्था नरहेको पनि बताए। चुनदेवीमा सभापतिको नेमप्लेट राख्दैमा कोही पार्टी सभापति नहुने उनको भनाइ थियो।
पौडेलले कुनै पनि ढङ्गले वैधानिक मान्न नमिल्ने भेलामा दस्तावेज प्रस्तुत गर्दैमा त्यसले आधिकारिकता प्राप्त गर्न नसक्ने बताए। साथै, नेपाली कांग्रेसका सभापति गगन थापालाई तत्कालीन महामन्त्रीका रूपमा प्रस्तुत गर्दैमा कसैको राजनीतिक उचाइ नबढ्ने उनको टिप्पणी थियो।
उनले इतर समूहको भेलाबाट प्रस्तुत दस्तावेजमा कांग्रेसले निर्वाचनका बेला अघि सारेका प्रतिबद्धताका धेरै विषय समेटिएको दाबी पनि गरे। प्रविधिको माध्यमबाट पार्टी सदस्यलाई ‘अद्यावधिक’ गर्ने विषय आफूहरूले प्रयोग गरेको शब्द भएकाले त्यसलाई फरक ढङ्गले उल्लेख गरिएको उनले बताए।
पौडेलले यथास्थितिमा रहेको कांग्रेसलाई परिवर्तन गर्ने प्रक्रियाको नेतृत्व सभापति गगन थापाले गरिरहेको दाबी गरे। पार्टीभित्रको विवादमा अल्झिनुभन्दा टिमवर्कका साथ थापाको नेतृत्वमा कांग्रेसलाई अघि बढाउन केन्द्रित हुनुपर्ने उनको भनाइ छ।