काठमाडौं । भारतले लिपुलेक पासमाथिको नेपालको दाबीलाई अस्वीकार गर्दै औचित्यहीन ठहर गरेको छ। भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै लिपुलेकमार्ग सन् १९५४ देखि नै भारत–चीनबीच व्यापारका लागि प्रयोग हुँदै आएको दाबी गरे।
उनका अनुसार कोभिड महामारीका कारण केही समय रोकिएको व्यापार हाल पुनः सुरु गर्ने सहमति मात्रै भएको हो। नेपालले प्रस्तुत गरेको भौगोलिक दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको उल्लेख गर्दै उनले एकतर्फी रूपमा दाबी विस्तार गर्नु स्वीकार्य नहुने बताए।
भारतले बाँकी सीमासम्बन्धी विवाद समाधानका लागि नेपालसँग संवाद र कूटनीतिक माध्यममार्फत छलफल गर्न तयार रहेको स्पष्ट पारेको छ।