काठमाडौंँ - पछिल्लो एक सातामा बैंकहरुको निक्षेप संकलन बढ्दै गएको छ । स्थानीय तहको निर्वाचनमा खर्च भएको रकम बैंकिङ्ग प्रणालीमा भित्रिन थालेको हो । एक साताको अवधिमा बैंकिङ्ग प्रणालीमा निक्षेप भित्रिएको छ भने कर्जा प्रवाहलाई घटाएको छ ।
उक साताको अवधिमा बैंकहरुले ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । अघिल्लो शुक्रबार अर्थात जेष्ठ १३ गते ४३ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले ७ अर्ब बढाएर जेष्ठ २० गतेसम्म ४३ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप भित्र्याएका हुन् ।
त्यस्तै २० दिनको अवधिमा बैंकहरुमा २० अर्ब रुपैयाँ निक्षेप भित्रिएको छ । बैशाख मसान्तसम्म ४३ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप रहेकोमा जेष्ठ २० गतेसम्म २० अर्ब रुपैयाँ बढेर ४३ खर्ब ९० अर्ब रुपैयाँ संकलन गरेको नेपाल बैंकर्स संघले जनाएको छ ।
यता बैंकहरुले कर्जा प्रवाहलाई भने घटाएका छन् । एक साताको अवधिमा बैंकहरुले २ अर्ब रुपैयाँ कर्जा घटाएका हुन् । गत जेष्ठ १३ गते ४१ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले एक सातामा २ अर्ब घटाएर ४१ खर्ब ९६ अर्ब रुपैयाँ मात्रै प्रवाह गरेका छन् ।
यता २० दिनको अवधिमा भने बैंकहरुको कर्जा प्रवाह ४ अर्ब रुपैयाँ बढेको छ । बैशाख मसान्तसम्मा बैंकहरुले ४१ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा जेष्ठ २० गतेसम्म ४१ खर्ब ९६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।
यता नेपाल बैंकर्स संघका अनुसार सीडी रेसियो ९०.३२ प्रतिशत कायम रहेको छ ।