काठमाडौँ । मध्यपूर्वमा चुलिँदै गएको द्वन्द्वले अब विश्व अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्न थालेको छ। कतारको सरकारी ऊर्जा कम्पनी QatarEnergy ले रास लाफानस्थित प्रमुख ऊर्जा पूर्वाधारमा भएको ड्रोन आक्रमणपछि तरल प्राकृतिक ग्यास (एलएनजी) उत्पादन अस्थायी रूपमा पूर्ण बन्द गरेको जनाएको छ। कम्पनीका अनुसार कर्मचारीको सुरक्षालाई प्राथमिकता दिँदै र सम्भावित प्राविधिक जोखिमबाट जोगिन यस्तो निर्णय लिइएको हो।
कतारको रक्षा मन्त्रालयले इरानबाट प्रक्षेपित ड्रोनहरूले दोहाको दक्षिणमा रहेको मेसाईद विद्युत केन्द्र र रास लाफान ग्यास प्रशोधन क्षेत्रलाई निशाना बनाएको पुष्टि गरेको छ। यी संरचना कतारको अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिन्छन् र विश्व ऊर्जा आपूर्ति शृङ्खलामा पनि केन्द्रीय भूमिका खेल्छन्। आक्रमणबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन भइरहेको जनाइएको छ।
एलएनजी मुख्यतया मिथेन ग्यासलाई अत्यधिक चिसो बनाइ तरल अवस्थामा रूपान्तरण गरी निर्यात गरिने इन्धन हो, जुन उद्योग, विद्युत उत्पादन केन्द्र र ठूला जहाजमा प्रयोग हुन्छ। यो घरायसी प्रयोजनका लागि प्रयोग हुने एलपीजीभन्दा फरक हो। एलपीजी भने पेट्रोलियम प्रशोधनको उपउत्पादन हो, जसमा प्रोपेन र ब्युटेन ग्यास समावेश हुन्छ।
कतार विश्वकै प्रमुख एलएनजी निर्यातकर्तामध्ये एक देश हो। अन्तर्राष्ट्रिय तथ्याङ्कअनुसार विश्व बजारमा आपूर्ति हुने कुल एलएनजीमध्ये उल्लेख्य हिस्सा कतारबाटै निर्यात हुन्छ। यस्तो अवस्थामा उत्पादन बन्द हुँदा विशेषगरी युरोप र एसियाली देशहरूमा ग्यास अभाव र मूल्यवृद्धिको जोखिम बढेको छ। सुरक्षित मानिँदै आएको ऊर्जा पूर्वाधारमै आक्रमण भएपछि विश्व ऊर्जा सुरक्षामा थप अनिश्चितता सिर्जना भएको विश्लेषकहरूले बताएका छन्।