माओवादी र समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

काठमाडौं । कम्युनिस्ट पार्टीहरूबीचको लामो तयारीपछि नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकीकरणको टुंगो लागेको छ। दुबै दलबीच सिद्धान्त, नीति र संरचनागत एकताको विषयमा सहमति जुटेको र अब नेतृत्वको टुंगो मात्र बाँकी रहेको स्रोतहरूले जनाएका छन्।

 

वार्ता टोलीका सदस्यका अनुसार पार्टी नेतृत्व चयनको जिम्मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई दिइएको छ। निर्वाचन आयोगले दल दर्ताको समयसीमा तोकेकाले त्योअघि नै एकता घोषणा गर्ने तयारी ती दलहरूमा भइरहेको छ।

 

दुबै पक्षबीच चुनाव चिन्हमा भने केही मतभेद बाँकी रहेको बताइन्छ। समाजवादी पक्षले पुरानै चिन्ह कलम कायम राख्ने चाहना व्यक्त गरेको छ भने माओवादीले नयाँ प्रतीक खोज्ने प्रस्ताव अघि सारेको छ। तर यो विषय पनि ठूलो विवाद नहुने नेताहरूको विश्वास छ।

 

स्रोतका अनुसार नयाँ पार्टीको नीति मार्क्सवाद–लेनिनवादमा आधारित हुनेछ भने नेपाली विशेषतासहितको समाजवाद यसको मुख्य मार्गदर्शक सिद्धान्त हुनेछ। माओवादीले अब माओवादको परिभाषा छाड्ने र समाजवादीले ‘जनताको बहुदलीय जनवाद’ नीतिबाट औपचारिक रूपमा टाढा हुने तयारी गरेका छन्।

 

पार्टीको नामका लागि “नेपाल कम्युनिस्ट पार्टी समाजवादी” वा “नेकपा समाजवादी” मध्ये एक राख्ने प्रस्तावमा छलफल भइरहेको छ। तर पहिले नै दर्ता भएको नाम दोहोरिन नदिन केही नयाँ विकल्पसमेत विचाराधीन छन्।

 

नेतृत्वको मोडालिटीका लागि प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक हुने प्रस्ताव अघि आएको छ। दुई अध्यक्ष प्रणालीबारे चर्चा भए पनि विगतमा असफल भएकाले त्यसतर्फ नजाने सहमति बनेको छ।

 

नेकपा माओवादी र नेकपा (एस)बीचको एकता टुंगिएपछि विप्लव समूहलाई पनि समेट्ने प्रयास हुनेछ। विप्लव ढिला भए पनि माओवादी–एस एकता अघि बढाएपछि अन्य घटकहरूसँग एकताको वातावरण बलियो बन्ने नेताहरूको बुझाइ छ।

 

वार्ता टोलीका एक सदस्यका अनुसार, “अब एकताको मार्गमा कुनै ठूला अवरोध छैन। झलनाथ खनाल र घनश्याम भुसालको व्यवस्थापन पनि मिलिसकेको छ। नेतृत्वमा प्रचण्ड–माधवबीच सहमति जुटेपछि पार्टी संरचना अन्तिम रूपमा तयार हुनेछ।”

प्रतिक्रिया