ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसमा बैंकको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा केही घटेको देखिएको छ।
असार मसान्तसम्म बैंकले ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ६ अर्ब ६९ करोड रुपैयाँको तुलनामा १०.१३ प्रतिशतले कम हो। खुद ब्याज आम्दानीमा सामान्य कमी र इम्पेरमेन्ट चार्ज बढ्नु नै नाफा घट्ने प्रमुख कारण बनेका छन्।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.७४ प्रतिशतले घटेको छ, जबकि खुद फि तथा कमिशन आम्दानी २९.९० प्रतिशतले वृद्धि भएको छ। कुल सञ्चालन आम्दानी २.९६ प्रतिशतले बढे पनि सञ्चालन मुनाफा ८.२५ प्रतिशतले घटेको छ। यस अवधिमा बैंकको खराब कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.३७ प्रतिशत पुगेको छ, जसका कारण इम्पेरमेन्ट चार्ज ३ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ।
खुद नाफामा कमीको प्रभाव बैंकको प्रतिशेयर आम्दानीमा पनि परेको छ। समीक्षा अवधिमा यो आम्दानी २ रुपैयाँ ६ पैसाले घटेर १६ रुपैयाँ ६५ पैसामा झरेको छ। असार मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ८१ पैसा रहेको छ, जबकि मूल्य आम्दानी अनुपात ११.६६ गुणा थियो। सो अवधिमा वितरणयोग्य मुनाफा १ अर्ब १० करोड रुपैयाँ रहेको छ।
बैंकको चुक्ता पूँजी ३६ अर्ब १२ करोड रुपैयाँ रहेको छ, र जगेडा कोषमा २४ अर्ब ८५ करोड रुपैयाँ सञ्चित छ। यस अवधिमा बैंकको निक्षेप १४.३४ प्रतिशतले र कर्जा ४.२३ प्रतिशतले बढेको छ।