कोशी प्रदेशमा बाढी र पहिरोबाट ४७ जनाको मृत्यु

विराटनगर । गएको शनिवार र आइतबारको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण कोशी प्रदेशमा मृत्यु हुनेको संख्या ४७ पुगेको छ। असोज १८ गतेदेखि निरन्तर परेको वर्षाले प्रदेशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति गरेको हो।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मृत्यु हुनेमा इलाम, पाँचथर, मोरङ, सुनसरी, उदयपुर, खोटाङ र भोजपुरका बासिन्दा रहेका छन्। प्रहरीका प्रवक्ता एसएसपी दीपक पोखरेलले हालसम्म बाढी र पहिरोमा परेर ४७ जनाको मृत्यु भएको पुष्टि गर्नुभएको छ।

सबैभन्दा बढी क्षति इलाम जिल्लामा भएको छ, जहाँ हालसम्म ३९ जनाले ज्यान गुमाएका छन्। पाँचथर र उदयपुरमा दुई–दुई जना, मोरङ, खोटाङ, सुनसरी र भोजपुरमा एक–एक जनाको मृत्यु भएको छ।

बाढीमा परेर एक जना बेपत्ता भएका छन्। उनी इलामकै हुन् र खोजी कार्य भइरहेको प्रहरी प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। बाढी, डुबान र पहिरोमा फसेका दुई हजार एक सय पाँच जनालाई भने सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्।

पहिरोका कारण इलाम, पाँचथर र सङ्खुवासभा क्षेत्रका धेरै सडक अवरुद्ध भएका छन्। कोशी प्रदेशका विभिन्न आठ स्थानमा हाल पनि सडक सञ्जाल पूर्ण रूपमा बन्द रहेको प्रहरीको भनाइ छ। मेची राजमार्गअन्तर्गत इलाममा एक स्थान, मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुरमा तीन स्थान, कोशी राजमार्गअन्तर्गत सङ्खुवासभामा दुई स्थान, तमोर कोरिडोरअन्तर्गत धनकुटामा एक स्थान र दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत खोटाङमा एक स्थानमा सडक अवरुद्ध रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय