दमौली बजारमा मुग्लिन–पोखरा सडकअन्तर्गत दोस्रो चरणको कालोपत्र सुरु

मुग्लिन–पोखरा सडक विस्तार परियोजनाअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु गरिएको छ। केही समयअघि पहिलो चरणको कालोपत्र सम्पन्न भएसँगै शुक्रबारदेखि दोस्रो चरणको काम अघि बढाइएको हो।

दमौली बजारको मुख्यचोक, सफा सडक चोक र तरकारी लाइन चोकमा पहिलो चरणको कालोपत्र गरिसकिएको छ। अहिले भने एकतर्फी रूपमा कालोपत्रको काम भइरहेको मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिएका छन्।

पूर्वी खण्डका अन्य स्थानमा कालोपत्र अन्तिम चरणमा पुगेको भए पनि दमौली खण्डमा घरटहरा हटाउन ढिलाइ भएपछि काममा ढिलाइ भएको बताइएको छ। आयोजनाका अनुसार दमौली खण्डको काम हालसम्म ८२.९५ प्रतिशत सम्पन्न भइसकेको छ।

चार लेनतर्फ ३३.५६ किलोमिटर र दुई लेनतर्फ ३.२ किलोमिटर दूरीमा अन्तिम कालोपत्र सकिएको छ। हालसम्म दुई लेनका आधारमा कुल ७३.११ किलोमिटर दूरीमा कालोपत्र सम्पन्न भएको इन्जिनियर पाण्डेले बताए।

पूर्वी खण्डको निर्माण कार्य २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि औपचारिक रूपमा सुरु गरिएको थियो। निर्माणको जिम्मा चीनको चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीले पाएको हो।

विसं २०२६ मा रेखाङ्कन गरिएको उक्त सडकमा सवारी चाप अत्यधिक बढेपछि एसियाली विकास बैंक (ADB) को ऋण सहयोगमा सडकलाई चार लेनमा विस्तार गर्ने कार्य थालिएको हो। पूर्वी खण्डको ठेक्का लागत ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय