इक्वेडरले जर्मनीलाई हरायो, तर विश्वकप यात्रा समाप्त

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ का अन्तिम तथा निर्णायक खेलहरूमा जर्मनी पराजित भए पनि समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। यता आइभोरी कोस्टले जित निकाल्दै उपविजेताका रूपमा अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ।

न्युयोर्क–न्युजर्सी स्टेडियममा भएको खेलमा इक्वेडरले जर्मनीमाथि २–१ को ऐतिहासिक जित दर्ता गर्‍यो। अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न जित्नैपर्ने दबाबमा रहेको इक्वेडरले उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुटबलकै एक शक्तिशाली टोलीलाई पराजित गर्न सफल भयो।

खेलको दोस्रो मिनेटमै जर्मनीका स्टार विङ्गर लेरोय सानेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर जर्मनीको अग्रता लामो समय टिक्न सकेन। नवौँ मिनेटमा इक्वेडरका युवा फरवार्ड निल्सन आङ्गुलोले बराबरी गोल फर्काउँदै खेललाई १–१ को स्थितिमा पुर्‍याए।

दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे। खेलको ७७औँ मिनेटमा गोन्जालो प्लाटाले शानदार गोल गर्दै इक्वेडरलाई २–१ को महत्त्वपूर्ण जित दिलाए। यद्यपि, यो जित पनि इक्वेडरलाई अघिल्लो चरण पुग्न पर्याप्त भएन।

अर्कोतर्फ फिलाडेल्फिया स्टेडियममा भएको खेलमा आइभोरी कोस्टले कुरासाओलाई २–० ले पराजित गर्दै नकआउट चरणमा स्थान बनायो। आइभोरी कोस्टका लागि स्टार फरवार्ड निकोलस पेपेले दुवै गोल गरे।

खेलको सातौँ मिनेटमै पेपेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ६४औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल थप्दै आइभोरी कोस्टको जित सुनिश्चित गरे। कुरासाओका गोलकिपर एलोय रुमले केही उत्कृष्ट बचाउ गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

समूह ‘ई’ को अन्तिम अंक तालिकामा जर्मनी र आइभोरी कोस्ट दुवैको समान ६ अंक रह्यो। तर उत्कृष्ट गोल अन्तरका कारण जर्मनी समूह विजेता बन्न सफल भयो भने आइभोरी कोस्ट उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्‍यो।

इक्वेडरले जर्मनीलाई हराएर ठूलो उपलब्धि हासिल गरे पनि गोल अन्तरमा पछि पर्दा विश्वकप यात्रालाई समूह चरणमै टुङ्ग्याउन बाध्य भयो। कुरासाओ भने १ अंकसहित प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय