काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रको विकासका लागि प्रभावकारी ऐन निर्माण गर्नु आफ्नो मुख्य उद्देश्य भएको बताएका छन् ।
राष्ट्रिय सभामा बुधबार पर्यटन विधेयक २०८१ माथि भएको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले विधेयकलाई आवश्यक परे संशोधन गर्न आफू तयार रहेको स्पष्ट पारे । उनले राम्रो ऐनको माध्यमबाट पर्यटकीय क्षेत्रको प्रवर्द्धन, दिगो विकास, पर्यटकका लागि सहजता र देशको आर्थिक अवस्था सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरे ।
मन्त्री पाण्डेले राष्ट्रिय सभाबाट विधेयक सुदृढ बनाउने काममा सहयोग हुने विश्वास व्यक्त गर्दै दफावार छलफल र समितिमा विस्तृत अध्ययन गरी विधेयकलाई अझ प्रभावकारी बनाउने उल्लेख गरे । उनले आफू सरकारको तर्फबाट कुनै पनि जडता नराखी विधेयकलाई संशोधन गर्न तयार रहेको बताए ।
विधेयकले प्रणाली सुदृढ गर्दै सुशासन कायम गर्ने उद्देश्य बोकेको उल्लेख गर्दै मन्त्री पाण्डेले प्रभावकारी संरचना निर्माण र कार्यान्वयनमा जोड दिए । उनले निजी क्षेत्रलाई पर्यटन क्षेत्रमा सहभागिता जनाउन मैत्रीपूर्ण वातावरण सिर्जना गरिनुपर्ने धारणा राखे । निजी क्षेत्रले खुला रूपमा लगानी गर्न सक्ने विश्वास वातावरण बनाउने र कानुनी रूपमा त्यसलाई स्थापित गरिने उनले बताए ।
मन्त्री पाण्डेले नेपाललाई सांस्कृतिक र धार्मिक हिसाबले विश्वका मानिसको आकर्षणको केन्द्र बनाउनुपर्ने बताए । उनले भूकम्पले ध्वस्त भएका सम्पदाहरूको पुनर्निर्माणमा देखिएको कौशलले अहिले पनि देशमा अरनिकोहरू रहेको अनुभूति दिलाएको टिप्पणी गरे ।
उनले पर्यटन क्षेत्रलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिंदै हाल थोरै हिमालहरूमा मात्रै पर्वतारोहण भइरहेको अवस्थामा यसपटक ५७ वटा हिमाल खुला गरिएको जानकारी दिए । अपांगता भएका व्यक्तिहरूका लागि सहज संरचना निर्माण गर्नुपर्ने भन्दै त्यसबारे गम्भीर छलफल गर्न सरकार तयार रहेको बताए ।
क्यासिनोका विषयमा बोल्दै मन्त्री पाण्डेले यसलाई अनावश्यक रूपमा विवादित नबनाई नियमनमा ध्यान दिनुपर्ने बताए । उनले मकाउको जस्तो उदाहरण दिँदै क्यासिनो नियमनमार्फत अर्थतन्त्रमा योगदान दिने सम्भावना रहेको उल्लेख गरे ।
पुरातात्विक सम्पदाको संरक्षण गर्दै ऊर्जा उत्पादन, जलयात्रा प्रवर्द्धन लगायत विकासका नयाँ बाटाहरूको खोजी गर्नुपर्ने धारणा मन्त्री पाण्डेले राखे । उनले पर्यटनमैत्री संरचना निर्माण गर्दै मौलिकताको जगेर्ना गर्न आवश्यक रहेको बताए ।