नवलपरासी — नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने खण्डमा सडक विस्तार तीव्र बनाउन वैशाख ३१ गतेसम्म रातको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको छ। यसअघि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाएर काम गरिँदै आएको थियो। निर्माणकार्य अझै बाँकी रहेकाले यही समयतालिका वैशाख ३१ सम्म लम्ब्याइएको हो।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार, दाउन्ने क्षेत्रमा अझै सडक काट्ने, पर्खाल र कल्भर्ट निर्माणका कार्य बाँकी रहेका कारण रातको समयमा सवारी चलाउन रोक लगाएर निर्माण तीव्र बनाइँदैछ। वर्षायाम सुरु हुनु अघिनै भित्तातर्फको कटिङ लगायतका मुख्य कार्य पूरा गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको उनले बताए।
यसअघि पनि चैत २७ देखि ३१ गतेसम्म दिनको समयमा र वैशाख १ देखि रातको समयमा अत्यावश्यक बाहेकका सवारीमा रोक लगाएर काम हुँदै आएको थियो। अहिले गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर खण्डमध्ये जोखिमपूर्ण मानिएको दाउन्नेको १४ किलोमिटर क्षेत्रमा तीन लेनको सडक विस्तार भइरहेकाे छ। यहाँ सेवा मार्गसहितको निर्माण कार्य चलिरहेको छ।
करिब १७ अर्ब रुपैयाँ लागतमा निर्माण जिम्मा लिएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थप गरिसकेको छ। पछिल्लोपटक थपिएको समय साउन ८ गतेसम्म रहेको छ।