सुनकोशी नदिमा चालक सहित ३ जना बेपत्ता

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नबलपुरस्थित मध्यपहाडी राजमार्गमा सोमबार भएको सडक दुर्घटनामा कार सुनकोसी नदीमा खस्दा त्यसमा सवार तीन जना बेपत्ता भएका छन्। उनीहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको कार एकआपसमा ठोक्किएका थिए। ठक्करपछि कार अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल सुनकोसी नदीमा खसेको हो।

इलाका प्रहरी कार्यालय खुर्कोटका प्रमुख प्रहरी निरीक्षक विष्णु पौडेलका अनुसार कारमा तीन जना सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनापछि कार नदीमा डुबेकाले तीनै जना बेपत्ता भएको आशंका गरिएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धार तथा खोजी कार्यमा जुटेका छन्। बेपत्ता व्यक्तिको खोजीका लागि गोताखोरको टोलीसमेत घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा संलग्न यात्रुबाहक बसका यात्रु भने सकुशल रहेका छन्। बेपत्ता भएका व्यक्तिहरूको परिचय भने हालसम्म खुल्न सकेको छैन।

दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। साथै, बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेकाले घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय