सन् २०२५ मा नेपालमा पर्यटक आगमन १ प्रतिशतले बढ्यो

काठमाडौं: सन् २०२५ मा नेपाल आउने पर्यटक संख्या १ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्ष ११ लाख ५८ हजार ४५९ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन्। गत वर्ष २०२४ मा ११ लाख ४७ हजार ५४८ जना पर्यटक आएका थिए।

यद्यपि कोभिड–१९ अघि सन् २०१९ मा आएको पर्यटकको तुलनामा चाहिँ यो संख्या अझै ३.२ प्रतिशतले कम छ। सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल आएका थिए, जुन हालसम्मकै उच्च आगन्तुक संख्या मानिन्छ।

चालु वर्षमा सबैभन्दा धेरै ४ लाख ८ हजार पर्यटक सार्क मुलुकबाट आएका छन् भने २ लाख ५३ हजार अन्य एसियाली मुलुकबाट आएका छन्। त्यसैगरी, युरोपबाट २ लाख ११ हजार, आसियान राष्ट्रबाट ५६ हजार, अमेरिकाबाट १ लाख ३५ हजार, मध्यपूर्वबाट २० हजार र अन्य मुलुकबाट ६२ हजार पर्यटक नेपाल आएका छन्।

भारत नेपालको प्रमुख बजार भए पनि सन् २०२५ मा भारतबाट आउने पर्यटक संख्या ८ प्रतिशतले घटेर २ लाख ९२ हजार ४३८ पुगेको छ। २०२४ मा भने ३ लाख १७ हजार ७८१ भारतीय पर्यटक आएका थिए। अमेरिकाबाट १ लाख १२ हजार पर्यटक आएका छन् भने चीनबाट ९५ हजार ४८० पर्यटक आएका छन्। अमेरिकाबाट आउने संख्या १ प्रतिशतले बढेको छ भने चीनबाट आउने संख्या ६ प्रतिशतले घटेको छ।

दक्षिण एशियाली मुलुकमध्ये श्रीलंकाबाट आउने पर्यटक संख्या सबैभन्दा धेरै अर्थात् २४ प्रतिशतले बढेको छ। बंगलादेशबाट आउने पर्यटक १७ प्रतिशतले बढेका छन् भने भारतीय पर्यटक घटेका छन्।

कुल आगन्तुकमध्ये ३५ प्रतिशत दक्षिण एशियाबाट, २१.९ प्रतिशत अन्य एसियाली मुलुकबाट, १९ प्रतिशत युरोपबाट, ११.७ प्रतिशत अमेरिकाबाट, ४.६ प्रतिशत आसियान मुलुकबाट, १.८ प्रतिशत मध्यपूर्वबाट र ५.४ प्रतिशत अन्य मुलुकबाट आएका छन्।

सन् २०२५ को डिसेम्बर महिनामा मात्र ९८ हजार १९० पर्यटक नेपाल आएका छन्। यो संख्या गत वर्षको डिसेम्बरको तुलनामा ६.७ प्रतिशतले बढी भए पनि सन् २०१९ को तुलनामा भने २.७ प्रतिशतले कम छ। यस महिनामा मात्रै दक्षिण एशियाबाट ३९ हजार ७२२ पर्यटक आएका छन्, जसमा भारतका पर्यटक ३० हजारजना रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय