काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफूले लोडसेडिङ अन्त्य गर्न कुनै चमत्कार होइन, इमानदार प्रयासमार्फत सम्भव भएको दाबी गरेका छन्। कार्यकाल नटुंगी नै बर्खास्त गरिएपछि पहिलोपटक शुक्रबार पत्रकार सम्मेलन गरेका घिसिङले आफ्ना उपलब्धिहरू उल्लेख गर्दै सरकारको निर्णयप्रति असन्तुष्टि जनाए।
उनले आफ्नो कार्यकालमा वैदेशिक मुद्रा संकटको बेला समेत विद्युत् निर्यात गरेर देशको अर्थतन्त्रमा योगदान पुर्याएको र निरन्तर घाटामा रहेको प्राधिकरणलाई अर्बौं नाफामा पुर्याउन सफल भएको बताए। ‘प्राधिकरणलाई सशक्त र आत्मनिर्भर बनाउनु, जनताको घर–घरमा बिजुली पुर्याउनु नै मेरो कार्यकालको सफलता हो,’ घिसिङले भने।
सरकारले बाँकी कार्यकाल समाप्त नहुँदै उनलाई पदबाट हटाएपछि घिसिङ सर्वोच्च अदालत गएका थिए। तर अन्तरिम आदेश नआएपछि उनले पत्रकार सम्मेलनमार्फत आफ्नो पक्ष सार्वजनिक गरेका हुन्।