असारमा घरजग्गा कारोबारले बनायो रेकर्ड, राजस्व पनि करिब १२ अर्ब

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा देशभर ५ लाख ४० हजारभन्दा बढी घरजग्गा लिखत पारित भएका छन्। वर्षको सुरुआतमा सुस्त रहेको घरजग्गा कारोबार मंसिरपछि क्रमशः बढ्दै गएको र असार महिनामा सबैभन्दा उच्च स्तरमा पुगेको देखिएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउन महिनामा ३१ हजार ६२१ वटा लिखत पारित भएकोमा आर्थिक वर्षको अन्तिम महिना असारमा यो संख्या बढेर ७० हजार ४८० पुगेको छ। असार महिनामा मात्रै घरजग्गा कारोबारबाट ११ अर्ब ९४ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

विभागका अनुसार देशभर रहेका १३५ भूमि प्रशासन तथा मालपोत कार्यालयमध्ये सुनसरीको इनरुवा कार्यालयबाट सबैभन्दा बढी घरजग्गा कारोबार भएको छ। त्यसपछि झापाको भद्रपुर, मोरङको बेलबारी, धनुषाको जनकपुरधाम, सप्तरीको राजविराज, कैलालीको धनगढी, दाङका तुलसीपुर र घोराही कार्यालयमा उल्लेख्य कारोबार भएको देखिएको छ।

तथ्यांकले पहाडी जिल्लाबाट बसाइँसराइ भई जनसंख्या बढी भएका क्षेत्रका मालपोत कार्यालयमा घरजग्गा कारोबार पनि उच्च रहेको संकेत गरेको छ।

मासिक विवरणअनुसार साउनमा ३१ हजार ६२१, भदौमा २७ हजार ४९३, असोजमा २३ हजार ३५३ र कात्तिकमा २८ हजार ३८३ लिखत पारित भएका थिए। मंसिरदेखि कारोबारमा उल्लेख्य सुधार देखिँदै मंसिरमा ५१ हजार ६३२ र पुसमा ५१ हजार ८८८ लिखत पारित भएका छन्।

माघमा ५० हजार ८३७ लिखत पारित भए पनि फागुनमा निर्वाचनका कारण कारोबार घटेर ३६ हजार ४७१ मा सीमित भएको विभागको तथ्यांकले देखाएको छ। त्यसपछि चैतमा ५५ हजार ५३१, वैशाखमा ५८ हजार ८८६, जेठमा ५४ हजार ७२४ र असारमा सबैभन्दा धेरै ७० हजार ४८० लिखत पारित भएका छन्।

असार महिनामा सबैभन्दा बढी कारोबार सुनसरीको इनरुवा कार्यालयबाट भएको छ। त्यसपछि भक्तपुर, जनकपुरधाम, बेलबारी, भद्रपुर, ललितपुरको लगनखेल, काठमाडौंको कलंकी, दाङको घोराही, कैलालीको धनगढी र दाङकै तुलसीपुर कार्यालय शीर्ष १० मा परेका छन्।

समग्रमा आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा बजारमा उल्लेख्य सुधार देखिएको छ भने मंसिरपछि कारोबारले निरन्तर गति लिएको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय